राजविराज, ३ कात्तिक– सप्तरी देउरीभरुवा गाविसका वीरेन्द्र यादवसहित उनका परिवारका सदस्यले एक युवकलाई रूखमा हातखुट्टा बाँधी खुट्टामा किला ठोकेर यातना दिएका छन् ।
छोरीसँग प्रेम गरेको रिसमा उनीहरुले फर्सेठ गाविस– ९ झल्हीका १८ वर्षीय अनिलकुमार यादवको कपाल चारपाटा मुड्नुका साथै डोरीले रूखमा बाँधेर खुट्टामा किला ठोकेर र आँखामा सिरिञ्जले रोपी शनिबार यातना दिएको पीडितका बुबा छोटेलाल यादवले बताए ।
बेहोस अवस्थामा राजविराजस्थित अञ्चल अस्पतालमा भर्ना भएका पीडितको उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि विराटनगर लगिएको सप्तरी प्रहरीले जनाएको छ ।
घटना सम्झनेबित्तिकै घाइते एकोहोरो हुने र बेहोस हुने गरेको पीडित परिवारका सदस्यले बताएका छन् । पीडितका आमा फुदीदेवीका अनुसार आरोपितहरूले फोन गरी घरमा बोलाएर सुपारीको रूखमा बाँधेका थिए ।