ओली भन्छन्, २२ दलका नाममा २३ जना जम्मा भएर धम्की दिने ?

काठमाण्डु टुडे २०७१ कार्तिक २ गते १४:१० मा प्रकाशित

काठमाण्डु, २ कात्तिक– एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत माओवादीले २२ दलका नाममा खुलामञ्चमा २३ जना जम्मा गरेर धम्की दिँदैमा आफूहरु नडराउने KP Oliबताएका छन् ।
राजधानीमा आइतबार भएको एक कार्यक्रममा ओलीले माओवादीले गर्ने भनेको आन्दोलनको कुनै तुक नरहेको बताए । ओलीले पटकपटक अनुनय बिनय गरेकाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उच्चस्तरीय राजनीतिक समितिको संयोजक बनाइएको दाबी गरे ।

देशको प्रधानमन्त्री भइसकेका प्रचण्डले खुलामञ्चबाट जनविद्रोहको धम्की दिएर बढ्ता क्रान्तिकारी देखिन खोजेको उनको टिप्पणी थियो । ओलीले प्रचण्डले आफू संविधान बनाउने संयोजक कि संविधान बनाउने नदिने संयोजक भन्ने प्रष्ट पार्नुपर्ने बताए ।

‘२२ दलका नाममा खुलामञ्चमा २३ जना जम्मा गरेर विद्रोहको धम्की दिँदैमा हामी डराउनेवाला छैनौं’, ओलीले भने, ‘पटकपटक अनुनय बिनय गरेपछि उच्चस्तरीय समितिको संयोजक बनाइएका प्रचण्डले स्पष्ट गर्नुपर्छ कि उहाँ संविधान बनाउने संयोजक कि संविधान बन्न नदिने संयोजक ?’

प्रचण्डले कहिले संविधान र कहिले विद्रोहको दोहोरो कुरा गर्न छाड्नुपर्ने ओलीको भनाइ छ । अध्यक्ष ओलीले संविधानसभामा कसको दुई तिहाई बहुमत नरहेकाले संवाद, सहमति र सहकार्यकै आधारमा ८ माघमै संविधान बन्ने बताए ।

ओलीले १० प्रदेशमा सहमति नहुने भन्दै १० प्रदेशको अडानबाट पछि हट्न एमाओवादीलाई आग्रह गरे । सबै जातजाति, भाषभाषी र भूगोल समेटेर बढीमा ७ प्रदेश बनाउनु उपयुक्त रहेकाले त्यसैमा सहमत हुन एमाओवादीलाई उनको आग्रह छ ।

माओवादीले झोला थापेर  हात्ती मागेको भन्दै उनले व्यंग्य गरेका थिए ।
कार्यक्रममा काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले आन्दोलन छाडेर सहमतिमा आउन एमाओवादीलाई आग्रह गरे । संविधान सडकमा नभई सदनमा लेखिने भन्दै देउवाले आन्दोलन जरुरी नरहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us