एमालेले गृह मन्त्रालय लिनु गल्ती: मन्त्री बस्नेत

काठमाण्डु टुडे २०७१ कार्तिक २ गते १३:५० मा प्रकाशित
Mahesh-basnet2भक्तपुर, २ कात्तिक–उद्योगमन्त्री महेश बस्नेतले सरकार गठनको प्रक्रियामा एमालेले गृह मन्त्रालयका लागि अडान लिनु गलत भएको बताका छन्।
शिल्पकार समाज नेपालले आइतबार भक्तपुरमा आयोजना गरेको एसएलसी सम्मान कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले एमालेले गृह मन्त्रालयभन्दा जनताको प्रत्यक्ष सरोकार रहने र विकासमा टेवा पुर्‍याउने मन्त्रालयमा अडान लिन नसकेको टिप्पणी गरेका थिए।
विसं २०५१ मा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा गरेको उपलब्धि एवम् प्रशंसायोग्य कामबाहेक अरु एमालेसँग जनतालाई देखाउने काम नभएको बताउँदै उनले अब जनताले प्रत्यक्ष रुपमा देख्ने र अनुभव गर्ने काम ल्याउनुपर्नेमा उनले जोड दिएका थिए।
मन्त्री बस्नेतले भने, २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्व गठन भएको एमालेको सरकारले गरेको उपलब्धिमूलक कामबाहेक त्यसपछि जनतालाई देखाउने काम हुन सकेन, सधैँ यही कामलाई मात्र देखाएर हुँदैन, नयाँ पुस्तालाई समेत आकर्षित गर्ने र जनताले देख्ने, अनुभव गर्ने जनताको पक्षमा एमालेले फेरि पनि कार्यक्रम ल्याउनुपर्ने बताए।
औद्योगिक क्षेत्रको विकास एवम् विस्तारमा अब सरकारको मुख ताक्न छाडेर निजी क्षेत्रले गाउँगाउँमा औद्योगिक क्षेत्र घोषणा गर्दै उद्योग सञ्चालन गर्न आग्रह गरे। मन्त्री बस्नेतले भने, “अब गाउँगाउँमा औद्योगिक क्षेत्र घोषणा गरेर निजी क्षेत्रले उद्योगहरु सञ्चालन गर्नुस्, त्यसका लागि आवश्यक पूर्वाधारहरु सरकारले व्यवस्था गर्छ।”
कार्यक्रममा यस वर्षको एसएलसी परीक्षामा उत्तीर्ण हुने ५० विद्यार्थीलाई ताम्रपत्रद्वारा सम्मान गरिएको थियो। त्यसैगरी समाजलाई विभिन्न समयमा सहयोग गर्नेहरुलाई कदरपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा समाजले मन्त्री बस्नेतलाई काठमा भ्याट खारेज गर्न, चिनियाँ र भारतका फर्निचरभन्दा कम कर लिनलगायत विभिन्न माग राखेर ज्ञापनपत्र बुझाएको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us