काठमाण्डु, २ कात्तिक– क्षेत्री, ब्राह्मण, ठकुरी, दशनामी तथा दलितको संयुक्त संघर्ष समिति नेपाल नयाँ संविधानमा जातीय आधारमा प्रदेश बनाए सशक्त आन्दोलन गर्ने घोषणा गरेको छ ।
समितिले आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेपाल १२५ जातजाती तथा १२३ भाषाले मिलेर बनेको बहुजातीय, बहुसाँस्कृतिक र बहुभाषिक देश भएको भन्दै जातीयताको आधारमा राज्यको पूर्नसंरचना गर्न सम्भवन नहुने बताएको छ ।
समितिले क्षेत्री, ब्राह्मण, ठकुरी, दशनामी तथा दलित जसलाई विभेदपूर्ण तरिकाले अन्यमा दर्ज गरिएको प्रति आपत्ति जनाउँदै उनीहरुलाई आदिवासी जातीमा सूचिकृत गरिनुपर्ने , पहिचानको नाममा धर्म, भाषा र जातीको गन्ध आउने कुनै पनि प्रकारको राज्य पूर्नसंरचना गर्न नहुने , राज्यबाट प्रदान गरिने सामाजिक सूरक्षा, सुविधा, सहयोग र संरक्षण विपन्नताको आधारमा गर्नुपर्ने, नेपाल सरकार तथा संयूक्त संघर्ष समितिसँग मिति २०६८ जेठ ८ गते र २०६९ जेठ ४ गते भएको सम्झौता अविलम्ब कार्यन्वयन गरिनुपर्ने लगायतका छ बुँदे माग अघि सारेको छ ।
कार्यक्रममा बोल्दै संघर्ष समितिका अध्यक्ष प्रा. डा. दिल बहादुर क्षेत्रीले नेपाललाई जातीयताको आधारमा राज्यको पूर्नसंरचना गरिए मुलुक जातीय द्धन्द्धमा फसी रुवाण्डा र सुडानको स्थिति सिर्जना हुने भन्दै मुलुकलाई विखण्डन हुनबाट जोगाउन आफूहरु आत्मआहुती दिन पनि तयार रहेको उद्घोष गरेका छन् ।
क्षेत्रीले भने–‘‘हाम्रो देश न त एकल न त बहुजातीय प्रदेश नै हितकर हुन्छ । त्यसैले राज्यको पूर्नसंरचना गर्दा पाँच विकास क्षेत्रलाई नै पाँच प्रदेश कायम गरि त्यसको आधार भूगोल बनाउनुपर्छ साथसाथै पहिचान भने सबै नेपालीको पहिचान झल्किने खालको साझा पहिचान कायम गरिनुपर्छ ।’’
त्यस्तै समितिले आगामी कार्तिक २२ गतेसम्म प्रत्येक जिल्लामा संघर्ष समितिहरु गठन गर्ने, कार्तिक २३ गते ७५ जिल्लाका प्र.जि.अ. मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउने, कार्तिक २५ गते प्रधामन्त्री, संविधानसभाका अध्यक्ष तथा विभिन्न राजनीतिक दलहरुलाई ज्ञापन पत्र बुझाउने, कार्तिक २५ गते देखि ३० गतेसम्म प्रत्येक जिल्लामा आमसभा गर्ने, आगामी मंसिर ६ गतेदेखि २७ गतेसम्म पाँचै विकास क्षेत्रमा आमसभा गर्ने लगायतका विभिन्न संघर्षका कार्यक्रम समेत सार्वजनिक गरेको छ ।