अरिङ्गालको टोकाइबाट एकै परिवारका तीनकाे मृत्यु

काठमाण्डु टुडे २०७१ कार्तिक २ गते ६:०३ मा प्रकाशित

म्याग्दी, २ कात्तिक–    म्याग्दीको बेनी नगरपालिका वडा नं ९ काउले गौडामा अरिङ्गालको टोकाइबाट एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

शनिबार घर नजिकैको बनमा दाउरा लिन जाँदा अरिङ्गालको टोकाइवाट घाइते भएका काउलेगौडाका ५५ वर्षीय दलबहादुर पुरी , उनकी ४८ वर्षीया श्रीमती शिव पुरी र १२ वर्षीय छोरा आशिष पुरीको उपचारको क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो।

घाइते पुरी परिवारलाई जिल्ला अस्पताल म्याग्दीले उपचारका लागि पोखरा रिफर गरेको थियो। एकै परिवारका तीन जनाको मृत्यु भएपछि गाउँ शोकमा डुबेको छ। मृतक पुरीका ४ छोरी र एक छोरा रहेका गाउँलेले बताएका छन्। अस्पतालले मृत घोषणा गरेपछि दाहसंस्कारका लागि शवलाई बेनी ल्याउने तयारी भइरहेको बताइएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us