२२ दल बैठकमा किन यसरी कड्किए नारायणकाजी ?

काठमाण्डु टुडे २०७१ कार्तिक १ गते १३:५६ मा प्रकाशित

narayankaji shresthaकाठमाण्डु, १ कात्तिक– एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले पार्टी नेतृत्वको २२ दलीय मोर्चाले पहिचानसहितको संघीयतासँगै श्रमजिवीको हित र वर्गीय उत्पीडन अन्त्यको विषयलाई आन्दोलनको एजेण्डा नबनाएको भन्दै आपत्ति जनाएका छन् ।

शनिबार बसेको २२ दलीय मोर्चाको बैठकमा संघीय प्रान्तको नाम र प्रदेशको संख्यालाई मात्र प्राथमिकता दिइएको र जनताका खास एजेण्डामा प्रवेशै नगरेको भन्दै उनी कड्किएका हुन् ।

पहिचानसहितको संघीयताको एजेण्डा सही भए पनि जनजाति र मधेसी समुदायभित्रका श्रमिक र गरिब जनताको एजेण्डा ओझेलमा परेको उनको भनाइ थियो । ‘खाली संघीय प्रदेशको संख्या र नामको मात्र कुराले हाम्रो आन्दोलनलाई सफलताको दिशामा लाँदैन’, बैठकमा श्रेष्ठको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘हामी सबै अग्रगामी परिवर्तनकारी शक्ति हौं भने संघीय राज्यमा जनजाति र मधेसी समुदायभित्रका श्रमजिवी र उत्पीडितहरुको मुक्तिबारे हाम्रो एजेण्डा के हो प्रष्ट हुनुपर्‍यो ।’

उनले प्रदेशको नाम र संख्याले मात्र जनताको आधारभूत जीवनमा उल्लेख्य परिवर्तन नल्याउने स्पष्ट गरे । एजेण्डाको स्पष्टताले मात्र जनातको ठूलो हिस्साको समर्थन आफूहरुलाई हुने र आन्दोलन सफल हुने श्रेष्ठले बताए ।

उनले स्वायत्ततामा स्थानीय जनताको अधिकार के हुने र समृद्धि र परिवर्तनको दिशामा मुलुकलाई कसरी लैजाने भन्नेबारे मोर्चामा छलफलै नहुने बिडम्बनाको विषय भएको बताए ।
श्रेष्ठको प्रश्नबारे जवाफ दिँदै एमाओवादी अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’ ले ती सबाल सही भएको बताए । मोर्चाको अघिल्लो बैठकमा पनि श्रेष्ठले सोही विषय उठाएका थिए । त्यतिबेला फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले उनको समर्थन गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us