महोत्तरी, १ कात्तिक– जागिर लगाइदिने प्रलोभन देखाएर रकम ठगी गर्दै हिँड्ने युवकलाई प्रहरीले महोत्तरीको गौशालाबाट पक्राउ गरेको छ ।
महोत्तरीको हत्तिसर्वा–२ का ५० वर्षीय सत्यनारायण यादव पक्राउ परेका हुन् । विभिन्न व्यक्तिसँग जागिरको प्रलोभन देखाएर रकम ठगी गर्दै आएको किटानी जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय गौशालाले यादवविरुद्ध ठगी मुद्दा चलाएको छ ।
जागिर लगाइदिन्छु भन्दै अभियुक्त यादवले महोत्तरीका ११ जनाभन्दा बढी व्यक्तिसँग जनही ३० हजार लिएर ठगी गरेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रमेश सुवेदीले जानकारी दिए ।
महोत्तरी श्रीपुर–२ का सञ्जित अधिकारीलगायतले यादवविरुद्ध प्रहरीमा उजुरी दिएपछि उनलाई गौशाला बजारबाट प्रहरीले पक्राउ गरेको हो । आफू पाजोस एग्रो फोरेस्ट्री प्लानटेसन प्रालिको अध्यक्ष रहेको र यसमा जागिर लगाइदिन्छु भन्दै यादवले प्रतिव्यक्ति ३० हजारका दरले रकम सङ्कलन गरेका थिए ।
यादवले जागिर पाएपछि महिनाको १५ हजार दिने, जागिरबाट अवकाश पाएपछि ४० लाख दिने भनि प्रलोभनमा पारी ठगी गरेको सञ्जिव यादवले बताए ।