काठमाण्डु, १ कात्तिक– एमाओवादी नेतृत्वको २२ दलीय मोर्चाले पूर्वघोषित आन्दोलन कार्यक्रम जारी राख्ने निर्णय गरेको छ ।
शनिबार बसेको मोर्चा बैठकले काँग्रेस–एमाले पहिचानसहितको संघीय संविधान बनाउने पक्षमा नरहेको निष्कर्षसहित आन्दोलन जारी राख्ने निर्णय गरेको हो ।
बैठकले थप आन्दोलनका कार्यक्रमसमेत तय गरेको सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताए । उनका अनुसार बैठकले पाँचथर, जनकपुर र कैलालीमा सभा गर्ने निर्णय गरेको छ ।
सत्तारुढ दलले आन्दोलनका कार्यक्रम रोक्न दबाब दिइरहेका बेला मोर्चाले थप आन्दोलनका कार्यक्रम तय गरेको हो । महतोका अनुसार बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्री बनाउनेदेखि विभिन्न प्रलोभन देखाएर मोर्चालाई फुटाउन सक्ने भन्दै सचेत रहन आग्रह गरेका थिए ।
बैठकले खुलामञ्चमा शुक्रबार भएको विरोधसभा सफल भएको निष्कर्षसमेत निकालेको छ ।