
काठमाण्डु, ३१ असोज – मलेसियाका पूर्वमन्त्रीसहित लगानीकर्ताको टोलीले पुर्वाधारका क्षेत्रमा लगानी गर्ने प्रस्ताव सरकार समक्ष राखेको छ।
अर्थमन्त्री डा. रामशरण महतलाई भेटर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं तराई द्रुतमार्ग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गर्ने प्रस्ताव मलेशियाली टोलीले राखेको हो।
मलेसियाका पूर्वमन्त्री दातो सेरी उतामा सामी भेल्लु सहित सरकारी अधिकारीहरु र मलेसियाका लगानीकर्ताहरुले अर्थमन्त्री डा महतलाई शुक्रबार भेटेका हुन। उनीहरुले अर्थमन्त्री डा महतसमक्ष मलेसिया सरकारले नेपाल सरकारसँग सीधै काम गर्न चाहेको बताए। निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका साथै त्यसैको आसपासमा आधुनिक शहरको विकास गर्ने सोच राखेको बताएका छन्।
अर्थमन्त्री डा महतले उनीहरुलाई सकारात्मक जवाफ दिएका छन्। काम गर्नका लागि तुरुन्त प्रस्ताव पेस गर्न अनुरोध गर्दै अर्थमन्त्री डा महतले सरकारले आवश्यक निर्णय तत्काल गर्ने आश्वासन पनि दिए। पछिल्ला दिनहरुमा नेपालमा विदेशी लगानी धमाधम आउन थालेको जानकारी दिदै नेपालमा लगानी गर्ने मलेसियाको उत्सुकताका लागि धन्यवाद दिए। उनीहरुले यी तीनवटै काम निर्माण, सञ्चालन र हस्तान्तरण बूट नीति अन्तर्गत गर्न चाहेको जानकारी दिएका थिए।
पूर्वमन्त्री भेल्लु भारत तथा दक्षिण एसियाका लागि मलेसियाका विशेषदूत पनि हुन। उनले सम्पूर्ण निर्माणका लागि साधन र स्रोत मलेसियाले नै ल्याउने जानकारी दिदै नेपालले जग्गा अधिग्रहण मात्र गरिदिनुपर्ने बताए। उनले यस्तो काम मलेसियाले आफ्नो मुलुकका अतिरिक्त अन्य मुलुकमा पनि गरिरहेको जानकारी पनि दिएका थिए। सो अवसरमा यी परियोजनाहरु निर्माणका लागि उनीहरुले तत्काल प्रस्ताव प्रस्तुत गरिहाल्ने जानकारी दिएका थिए।
नेपाल पर्यटनका दृष्टिले अत्यन्तै आकर्षक र सुन्दर देश भएको बताउदै विश्वसँग एयर कनेक्टीभिटी बढाएर पर्यटक आकर्षित गर्न चाहेको अर्थमन्त्री डा. महतले बताए। पर्यटन मात्र होइन, उर्जाको क्षेत्रमा पनि नेपालको संभावना उच्च रहेको चर्चा गर्दै उनले पर्यटनको विकाससँगै कृषिको पनि विकास हुने बताए। ‘जलबिद्युतमा नेपालले संभावनाको एक प्रतिशत पनि उपयोग गर्न सकेको छैन।
कृषि, पर्यटन र उर्जाको विकास गरी नेपाललाई उच्च आर्थिक बृद्धि र सम्पन्नताको बाटोमा लैजाने सरकारको अठोट छ, अर्थमन्त्रीले भने, यसैकारण सरकारले चालु आर्थिक बर्षको बजेटमा पूर्वाधारको विकास, उर्जालाई प्राथमिकता दिएको छ।’
वीजमाण्डुबाट