
काठमाण्डु, २९ असोज– एक वर्षअघि सम्पत्ति विवरण बुझाएका मन्त्रीहरुको सम्पत्ति विवरण खासै घटबढ भएको छैन ।
]उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले घर बिक्रीबाट बचत भएको ६५ लाख रुपैयाँ आफन्तलाई दिएको उल्लेख गरेका छन् । त्यस्तै नबिल बैंकबाट लिएको एक करोड ऋणमध्ये ५० लाख तिरेको उनले जनाएका छन् । घर बिक्रीबाट प्राप्त रकमले ऋण तिरेको उनले जनाएका छन् । गौतमले एभरेष्ट बैंकको खातामा रहेको रकम भने घटेको देखाएका छन् ।
उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले भने अघिल्लै सम्पत्ति विवरण बुझाएका छन् । यसपटक पनि उनले ६५ तोला सुन, केही हीरा जवाहरत ,अन्दाजी २ किलो चाँदीका सामान रहेको उल्लेख गरेका छन् । भूमिसुधारमन्त्री दलबहादुर रानाले पनि पूरानै सम्पत्ति विवरण बुझाएका छन् । रानाको ११ तोला सुन छ भने बैंकमा सामान्य मौज्दात छ ।
भौतिक पूर्वाधारमन्त्री विमलेन्द्र निधिले भने चार लाख नगद बढेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । आफू र श्रीमती अनामिकाको नाममा दुई/दुई लाख बैंक व्यालेन्स भएको उनले देखाएका छन् । निधिसित सुन ६० तोला, चाँदी १ सय ५० तोला र नगद १० लाख १४ हजार पाँच सय ७५ रुपैयाँ रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
कानुनमन्त्री नरहरि आचार्यको सम्पत्ति पनि बढेको छैन ।
उनीसित सुन ४७ देखि ४८ तोला उल्लेख छ । आफ्नो नाममा १२ हजार मात्र बैंक ब्यालेन्स रहेको जनाएका मन्त्री आचार्यले श्रीमती शारदा शर्माको नाममा विभिन्न बैंकमा तीस लाख मौज्दात रहेको उल्लेख गरेका छन् ।
वन तथा भूसंरक्षणमन्त्री महेश आचार्यले पनि पूरानै सम्पत्ति विवरण बुझाएका छन् । उनले ४५ तोला सुन,आफ्नो नाममा सनराइज बैंकमा २० लाख, आफ्नो र श्रीमतीको संयुक्त नाममा सनराइज बैंक विराटनगर शाखामा ४० लाख रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
सिञ्चाइमन्त्री एनपी साउदले भने आफ्नो सम्पत्ति एक वर्षमा घटेको विवरण पेस गरेका छन् । युवा तथा खेलकुदमन्त्री पुरुषोतम पौडेलले एक वर्षमा ५० हजार ऋण तिरेका छन् । नयाँ पत्रिकाबाट