काठमाण्डु, २८ असोज – प्रधानमन्त्री सुशील कोइरालासँग गैर आवासीय नेपाली संघ (एनआरएन)को प्रतिनिधि मण्डलले भेट गरेको छ ।
संघका अध्यक्ष शेष घलेको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटेको हो ।
भेटमा गैरआवासीय नेपाली संघको अवस्था, गैरआवासीय नेपालीहरुले नेपालमा गरेको लगानी, नेपालमा सुध्रिदै गरेका लगानी योग्य वातावरण, नेपालको संविधान निर्माण प्रकृया, खुला विश्वविद्यालय स्थापना सम्बन्धी विधेयक आदिको विषयमा कुराकानी भएको थियो ।
संघका प्रतिनिधिहरुसंगको भेटमा प्रधानमन्त्री कोइरालाले संविधानसभाको निर्वाचन भएर आफ्नो नेतृत्वमा सरकार गठन भएपछि यसले शान्ति, स्थायित्व, लोकतन्त्र, लोकतान्त्रिक संविधान र विकासलाई मूलमन्त्र बनाएर काम गरिरहेको बताए । उनले मुलुकमा शान्ति र राजनीतिक स्थायित्व कायम भएको र निर्धारित समयमा संविधान आउने सुनिश्चित भएकोले लगानीको वातावरण बनिरहेको बताएका छन् ।
प्रधानमन्त्री कोइरालाले एनआरएनका अध्यक्ष घले स्वयंले ८ अर्ब रुपैयाको लागतमा ५ तारे होटल निर्माण कार्यको थालनी गरेर विदेशी लगानी भित्र्याउने कार्यको अग्रसरता लिएकोमा बधाइ दिएका छन् । भेट्न आएका प्रतिनिधिहरुमार्फत समस्त एनआरएन सदस्यहरुलाई नेपालमा लगानी गर्न आहृवान पनि गरेका छन् ।
प्रधानमन्त्री कोइरालाले जनतालाई विकासको प्रतिफल चाहिएको बताउदै हालै भारतसंग सम्पन्न विद्युत व्यापार संझौता र भारतको जिएमआर कम्पनीसंग नेपाल लगानी बोर्डले गरेको परियोजना विकास संझौताले नेपालमा जलविद्युतमा लगानी गर्ने बाटो प्रशस्त गरेको पनि बताए ।
प्रधानमन्त्री कोइरालाले संविधान निर्माणमा राजनीतिक दलहरु धेरै विषयमा सहमतिमा पुगेको र विगतमा विवादास्पद देखिएका कतिपय विषयमा पनि सहमति बन्दै गएकोले संविधान आउने कुरामा विश्वस्त हुन पनि आग्रह गरे । गैर आवासीय नेपालीहरुसंग संविधान, संघीयता, लगानी, जनशक्ति विकास र आर्थिक सामाजिक विकासको एजेण्डाहरु लिएरले अन्य दलका नेताहरुसंग भेटघाट गरी मुलुकलाई समुन्नत बनाउने सुझाव दिन आग्रह गरेका छन् ।
भेटका अवसरमा अध्यक्ष घलेले खुल्ला विश्व विद्यालयको स्थापना सम्बन्धी प्रकृयालाई छिटो टुंग्याउन सके यसले नेपालीहरुलाई गुणस्तरीय उच्च शिक्षा लिने मार्ग प्रशस्त गर्ने कुरा बताए ।