बाँके, २८ असोज– बाँकेमा एकैदिन दुई महिलालाई पतिसहितको संलग्नतामा आफन्तले आगो लगाएर मार्ने प्रयास गरेका छन् ।
प्रहरीका अनुसार इन्द्रपुर–९ मानपुरकी १९ वर्षीया पूजादेवी नाउ र खासकारकाँदो–२ भुजुइगाउँकी २५ वर्षीया हेमकुमारी धोबीलाई जलाएर मार्ने प्रयास गरिएको हो । प्रहरीले आगो लगाएर मार्ने प्रयास गरिएको अभियोगमा दुवै महिलाको पतिसहित चारजनालाई पक्राउ गरेको छ ।
बाँकेका प्रहरी प्रमुख शेखर कोइरालाले पूजाका पति पवन नाउ, आफन्त रमेश नाउ र राज नाउ तथा हेमकुमारीका पति गयाप्रसाद धोबीलाई हत्या प्रयास अभियोगमा पक्राउ गरिएको जानकारी दिए ।
कोइरालाले घटनाको प्रकृति हेर्दा दुवै घटनामा पतिसहित आफन्तकै संलग्नता देखिएको बताए । उनले भने ,‘दुवै घटनामा पीडितसँग बुझ्दा र घाउ हेर्दा जलाएको देखिन्छ । थप अनुसन्धान भइरहेको छ ।’
महिला विकास कोष बाँकेकी सुपरभाइजर विन्दु कुँवरले पनि दुवै महिलालाई परिवारकै सदस्यले जलाएको बताइन् । दुवै घटनाको कारण अत्याधिक रक्सी रहेको पनि उनले बताइन् ।