
काठमाण्डु, २८ असोज– थाइल्यान्डमा गाँजा सेवनको अभियोगमा पक्राउ परेका पूर्वयुवराज पारस शाहलाई तिहारलगत्तै काठमाण्डु बोलाउने तयारी परिवारले गरेको छ ।
उनलाई धरौटीमा रिहा गराउने प्रयास भएको छ । धीरेन्द्र शाहका छोरी सीताष्मा र बहिनी प्रेरणाले पारसलाई रिहा गराउन यसपटक चासो राखेका स्रोतको भनाइ छ ।
स्रोतका अनुसार बाबु ज्ञानेन्द्र शाह र आमा कोमल पनि पारसको अवस्थाबारे चिन्तित छन् । यसपटक रिहा भएमा जसरी भए पनि पारसलाई काठमाण्डुमै बोलाउने तयारी शाही परिवारको रहेको स्रोतको दाबी छ ।
चार वर्षको भिसाअवधि सकिएपछि गत २१ साउनमा तीन महिनाका लागि पारसको भिसा थप गरिएको थियो । अर्को पटक भिसा नथपी नेपाल बोलाउनुपर्ने सल्लाह नातेदारहरूले परिवारलाई दिएको स्रोतको भनाइ छ ।
उता पारस पक्राउ परेयता उनकी प्रेमिका सम्पर्कमा आएकी छैनन् । यसपटक पारस रिहा भएपछि प्रेमिकासित सम्बन्ध बिग्रन सक्ने र सजिलै नेपाल आउन तयार हुने विश्वास उनका साथीहरुको छ ।