बाहुनका छाेरा सुँगुर स्याहार्दै

काठमाण्डु टुडे २०७१ असोज २७ गते १२:०८ मा प्रकाशित

राैतहट , २७ असाेज –  ब्राह्मणले बङ्गुर छोए जात नै जान्छ भन्ने पुरानो मान्यता अब विस्तारै उखानमा सिमित हुन थालेको छ।

pigरौतहटका ब्राह्मण युवा बङ्गुर तथा कुखुरापालनमा लागेर आम्दानीको स्रोत पहिचान गर्न सफल भएका छन्।

रौतहटको चन्द्रनिगाहपुरमा बङ्गुर तथा कुखुरापालन व्यवसायमा ब्राह्मण तथा क्षेत्री समुदायको बाहुल्यता रहेको पाइन्छ। सन्तपुर, जुडिवेला, चन्द्रनिगाहपुर, कनकपुर क्षेत्रका ब्राह्मण आधुनिक घर, दाना तथा औषधिको व्यवस्था गरी यस्ता व्यवसायमा क्रियाशील रहेका छन्।

जात होइन कर्ममा विश्वास गर्नुहुने चन्द्रपुर नगरपालिका वडा नं १२ का रमण पोखरेलले कुखुरापालन गर्न सुरु गरेर राम्रो आम्दानी गर्न सकेको बताए।

हालैमात्र रु एक करोडको लगानीमा स्थानीय युवाले चन्द्रपुर नगरपालिकाको बेल्डिमा बङ्गुरपालन व्यवसाय सुरु गरेका छन्। स्याहारसुसारका लागि धेरै समय खर्चिनु नपर्ने भएकाले यसतर्फको आकर्षण बढेको व्यवसायी एवम् चन्द्रनिगाहपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष वासुदेव अधिकारीले बताए।

अहिले चन्द्रनिगाहपुर आसपासका क्षेत्रमा १०० भन्दा बढी ब्राह्मण घरपरिवारका सदस्यले बङ्गुर तथा कुखुरापालन गरी आफ्नो जीविकोपार्जन गरिरहेका छन्। परम्परागत खेतीको तुलनामा भन्दा बङ्गुरपालनमा कम लगानीमै राम्रो आम्दानी हुने हुँदा यस क्षेत्रका युवा आकर्षित भएका हुन्।

यस्ता व्यवसाय गर्न पहिलेपहिले परिवारबाटै बाधा अवरोध हुन्थ्यो तर अहिले आएर त्यस्तो अवरोध हटेको चन्द्रपुर नगरपालिका वडा नं ७ जुडिवेलाका किशोर आचार्यले बताए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us