दोहोरो नागरिकता मागेका होईनौं, नागरिकताको निरन्तरता होस् : एनआरएन

काठमाण्डु टुडे २०७१ असोज २७ गते ११:२० मा प्रकाशित

काठमाण्डु, २७ असोज – गैरआवासीय नेपाली संघ अमेरिका (एनआरएन) ले दोहोरो नागरिकता नभएर नागरिकताको निरन्तरता होस् भन्ने माग गरेको बताएको छ ।

ganeshसोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघले अब बन्ने संविधानमा गैरआवासीय नेपालीहरुले नागरिकताको निरन्तरता होस भन्ने माग राखेको बताएको हो । संघले आफूहरुले सरकारसँग दोहोरो नागरिकता नमागेको खाली नागरिकताको निरन्तरता होस मात्रै भनेको स्पष्ट पार्दै गलत रुपमा नबुझिदिन आग्रह समेत गरेको छ ।
कार्यक्रममा संघका अध्यक्ष खगेन्द्र जिसीले संविधानसभा अन्तर्गतको संवैधानिक राजनीतिक संवाद तथा सहमती समितिले आफूहरुलाई विशेष किसिमको नागरिकता दिने प्रतिवद्धता जाहेर गरेको जानकारी दिँदै अब बन्ने नयाँ संविधानमा एनआरएनका हकहित सुनिश्चित गर्नुपर्ने माग राखेका छन् । उनले भने–‘‘ एकचोटीको नेपाली सँधैको लागि नेपाली हुन्छ, हामीले अरु माग राखेका होईनौं खाली नागरिकताको निरन्तरता होस भनेका मात्र हौं । ’’

जिसीले विदेशी लगानी भित्र्याउने वातावरण सरकारले बनाउनुपर्ने बताएका छन् । उनले विदेशीमा बस्ने नेपालीहरु अहिले दाहोरो करको मारमा परेको गुनासो गर्दै सरकारले जतिसक्दो चाँडो दुईपक्षीय सम्झौता गर्नुपर्ने सुझाव दिएका छन् । सरकारले डबल ट्याक्सेसन समस्याको हल गरिदिए त्यस बरारबरको पुँजी आफूहरुले सामाजिक काममा खर्चिने पनि उनले जानकारी दिए ।

उनले अमेरिकाको न्यूयोर्क शहरमा धेरै नेपालीहरुको बसोबास रहेको भन्दै त्यहाँस्थित कन्शुलर सर्भिस सेन्टर अहिले बन्द भएको हुँदा जति सक्दो चाँडो सञ्चालनमा ल्याउनुपर्ने माग गरेका छन् । कन्सुलर सेन्टर बन्द हुँदा भिसा प्रक्रिया, पासपोर्ट रिन्यू गर्ने लगायतका कामहरु प्रभावित भएको उनले गुनासो गरेका छन् । जिसीले हालै ग्रिनकार्ड र पीआर लिने कर्मचारीलाई कारबाही गर्नुपर्छ भन्ने अभियान नेपालमा चलाईएको भन्दै गुनासो गरेका छन् । उनले ग्रिनकार्ड लिनु भनेको नागरिकता वा पासपोर्ट लिनु नभई खाली सुविधाको लागि लिईएको बताए ।

त्यस्तै संघका महासचिव कृष्ण पोखरेलले नेपालमा लगानीको वातावरण बन्ने हो भने विदेशी लगानी भित्रन कुनै समय नलाग्ने बताएका छन् । उनले स्वदेशमा रोजगारीको संभावना नभएर लाँखौ यूवाहरु रोजगारीको सिलसिलामा विदेश पलायन भएको भन्दै रोजगारीको वातावरण बनाउनुपर्ने सुझाव दिएका छन् ।

पोखरेलले अहिले अमेरिकामा करिब तीन लाख नेपालीहरु रहेको समेत जानकारी दिएका छन् । उनका अनुसार एनआरएनले त्यहाँ बसोबास गर्ने नेपालीहरुको हकहित र समस्याको लाग सँधै सहयोग तथा समन्वय गर्दै आएको छ । पोखरेलले एनआरएन अमेरिकाले विभिन्न जिल्लामा आएको बाढी पहिरो पीडितका लागि करिब दश लाख नेपाली सहयोग गरेको समेत जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us