प्रचण्डले आन्दोलन फिर्ता नलिए उच्चस्तरीय राजनीतिक संयन्त्रमा बस्दैनौ : ज्ञवाली

काठमाण्डु टुडे २०७१ असोज २७ गते १०:०९ मा प्रकाशित

काठमाण्डु, २७ असोज – नेकपा एमाले सचिव प्रदिप ज्ञवालीले उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक भएर सडक आन्दोलन गर्ने प्रचण्डले आन्दोलन तत्काल फिर्ता नलिए एमाले समितिमा नबस्ने चेतावनी दिएका छन् ।

Pradip_Gywali_20120326091828रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले भने–‘‘ प्रचण्ड आफै राजनीतिक संयन्त्रको संयोजक हुने हुने अनि आन्दोलन पनि गर्ने यो नैतिकताले दिदैन । आन्दोलन तत्काल फिर्ता लिएर सहमतिको प्रक्रियामा नआए हामी संयन्त्रमा बस्दैनौ । आन्दोलन गरिरहने हो भने संयन्त्रको औचित्य सकिन्छ । ’’

साक्षात्कारमा ज्ञवालीले पहिलो संविधानसभामा पनि प्रचण्डले दोहोरो भूमिका खेलेर संविधान आउन नदिएको र अहिले पनि त्यस्तै भूमिकामा प्रस्तुत भएको आरोप लगाउँदै अहिलेको पहिचान पक्षधरहरुको आन्दोलनको घोषणा पनि संविधान भाँड्ने षडयन्त्र भएको दावी गरे ।

उनले शासकीय स्वरुपमा तीन वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाउने गरी काँग्रेसको प्रस्तावमा सहमति नजिक रहेको स्पष्ट पार्दै सात वटा प्रदेश भने एमालेको बटमलाईन भएको स्पष्ट पारे ।

कुनै पनि हालतमा एकल जातीय पहिचान आफूहरुलाई स्विकार्य नहुने स्पष्ट पार्दै राजधानी, पूर्व र पश्चिम प्रदेश उत्तर दक्षिण जोडिने गरि निर्माण हुनुपर्ने बताए । उनले कुनै पनि हालतमा माघ ८ गते भित्र संविधान जारी गर्ने समेत साक्षात्कारमा स्पष्ट पारेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us