काठमाण्डु, २७ असोज– बारामा गोली लागि प्रदर्शनकारीको मृत्यु भएको बिषयमा संसदीय छानबिन समिति गठन गर्ने प्रतिबद्धतापछि संसद सूचारु भएको छ । गृहमन्त्री बामदेव गौतमले घटनाको छानबिनको लागि संसदीय समिति गठन गर्ने प्रतिबद्धता जनाएका हुन् ।
सडक मर्मतको बिषयमा शनिबार भएको प्रदर्शनमा प्रहरीको गोली लागि हरिहरपुर ७ का जयनारायण पटेलको मृत्यु भएको थियो । घटनाको छानबिनको लागि संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षी एमाओवादी लगायत दलका सभासदले संसद अवरुद्ध गरेका थिए ।
बामदेवको जवाफ चित्त नबुझेको भन्दै विपक्षीद्वारा संसदमा नाराबाजी
बारामा सडक बनाउन माग गर्दै प्रदर्शनमा उत्रिएका सर्वसाधारणको प्रहरीको गोली लागेर मृत्यु भएको सम्बन्धमा गृहमन्त्रीले दिएको प्रष्टीकरण चित्तबुझ्दो नभएको भन्दै एमाओवादी र मधेसवादीसहित विपक्षी दलले संसद् अवरुद्ध गरेका छन् ।
गृहमन्त्री गौतमले संसदलाई ढाँटेको भन्दै विपक्षीले मंगलबारको संसद बैठक अवरुद्ध गरेका हुन् । कलैया–बंकुल ३० किलोमिटर जीर्ण सडक मर्मतको माग गर्दै सिम्रौनगढमा स्थानीयले गरेको प्रदर्शनमा सशस्त्र प्रहरीले गोली चलाउँदा शनिबार हरिहरपुर–७ का जयनारायण पटेलको घटनास्थलमै मृत्यु भएको थियो ।
त्यसबारे गौतमले सोमबारको संसद बैठकमा जवाफ दिंदै प्रदर्शनकारी प्रहरीमाथि जाइलागेपछि आत्मरक्षाका लागि बाध्य भएर प्रहरीले गोली चलाएको बताएका थिए । संसद् बैठक सुरु भएलगत्तै विशेष समय लिएर बोल्दै मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले घटनाबारे गृहमन्त्रीले प्रहरीले तयार पारेको झुटो बयान दिएको बताए । उनले मधेसी समुदायलाई उत्तेजित पार्ने नियतसहित घटना गराइएको भन्दै दाषीमाथि कारबाही र मृतकलाई सहिद घोषणाको माग गरे ।
उनले प्रहरीले मधेसी समुदायमाथि अपमानजनक शब्द प्रयोग गरेर गाली गलौज गरेको आरोप लगाए । ‘मधेसी जनतालाई उत्तेजित पार्न नियोजित ढंग्ले बारा घटना घटाइएको छ’, यादवले भने, ‘गृहमन्त्रीले प्रहरीले तयार पारेको झुठो बयान दिनुभएको छ, यो हामीलाई मान्य छैन ।’ यादवले प्रहरीले चेतावनीसमेत नदिई गोली चलाएको भन्दै घटनाको सत्यतथ्य छानबिन नभएसम्म संसद चल्न नदिने चेतावनी दिए ।
सरकारले बनाएको छानबिन आयोग मान्य नहुने भन्दै उनले संसदीय छानबिन समिति गठनको माग गरे । गृहमन्त्रीले संसदमा प्रहरीलाई गोली हान्ने आदेश नदिएको भन्नु र प्रहरीले गोली चलाउनु आश्चर्कजनक भन्दै उनले सरकारले त्यस्ता प्रहरीमाथि कारबाही गर्नु पर्ने कि नपर्ने भन्ने प्रश्न गरे ।