काठमाण्डु, २७ असोज– दलहरुबीच संविधानसभाबाट संविधान जारी भएको एक महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन गर्ने सहमति भएको छ ।
संवैधानिक राजनीतिक तथा संवाद सहमति समितिको सिंहदरबारमा बिहान बसेको बैठकले संविधान जारी भएको एक महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन गर्ने निर्णय गरेको हो ।
आगामी माघ ८ गते संविधान जारी गर्ने संविधानसभाको कार्यतालिका छ । पूर्वनिर्धारित मितिमै संविधान जारी भए आगामी ८ फागुन अगावै नयाँ राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि व्यवस्थापिका–संसदमा निर्वाचन हुनेछ ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै समिति सभापति बाबुराम भट्टराईले निर्णयसँगै राष्ट्रपति र उपराष्ट्रपतिको पदावधिसम्बन्धी अन्यौल अन्त्य भएको बताए ।
‘राष्ट्रपति कहिलेसम्म बहाल रहने भन्ने विवाद थियो’, भट्टराईले भने, ‘संविधान जारी भएको एक महिनाभित्र व्यवस्थापिका–संसदले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्नेछ ।’