भारतले दियो नेपाली नेताहरुको हत्या हुन सक्ने सूचना

काठमाण्डु टुडे २०७१ असोज २७ गते २:२९ मा प्रकाशित

काठमाण्डु, २७ असोज– भारत सरकारले आतंककारीद्वारा नेपालका महत्वपूर्ण नेताको हत्या हुन सक्ने सूचना नेपाल सरकारलाई दिएको छ ।

काठमाण्डुस्थित भारतीय दूतावासले दिएको यो सूचनामा नेपाली नेताहरुको हत्यासँगै आफ्ना दूतावासका वरिष्ठ अधिकृतहरुको पनि अपहरण हुन सक्ने उल्लेख छ ।

१८ दिनअघि अर्थात् २४ सेप्टेम्बर २०१४ मा एक गोप्य तथा औपचारिक पत्रमार्फत भारतले नेपाली नेताहरु तथा भारतीय कूटनीतिक अधिकृतहरुको सुरक्षासँग सम्बन्धित अति संवेदनशील सूचना दिएको हो ।
भारतले यस्तो सूचना आफूले अत्यन्त भरपर्दो र विश्वासिलो स्रोतबाट पाएको पनि पत्रमा उल्लेख गरेको छ । परराष्ट्र मन्त्रालयमार्फत नेपाल सरकारलाई लेखिएको पत्रमा नेताको हत्या र कूटनीतिक अधिकृतको अपहरणको खतरा के कारणले हुनसक्ने हो भन्ने खुलाइएको छैन ।

तर, अन्तर्राष्ट्रिय आतंकवादी संगठन अलकायदा र इन्डियन मुजाहिद्दिनबाट त्यस्तो कार्यको सम्भावना रहेको उल्लेख छ । सूचनामा अत्यन्तै सुरक्षा खतरा रहेका नेता को–को हुन् भन्ने उल्लेख नगरी  ‘प्रोमिनेन्ट नेपाली पोलिटिसिययन्स’ भन्ने वाक्यांश प्रयोग गरिएको छ ।
अन्नपूर्ण पोष्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us