काठमाण्डु, २६ असोज– राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापा र युवा टिमका कप्तान विमल घर्तीमगरसहितका खेलाडी एन्फा अध्यक्ष गणेश थापामाथि संसदको
सार्वजनिक लेखा समितिले गरेको कारबाहीको विपक्षमा उभिएका छन् ।
उनीहरुले खेलकुदमन्त्री पुरुषोत्तम पौडेल र राखेपका सदस्यसचिव युवराज लामालाई ज्ञापनपत्र बुझाउँदै थापासहित एन्फा पदाधिकारीमाथि गरिएको कारबाहीको विरोध गरेका हुन् ।
ज्ञापनपत्र बुझाउनेमा सागर र विमलसँगै महिला कप्तान चन्दा भण्डारी, प्रशिक्षक बालगोपाल महर्जन र फिफा रेफ्री लव खत्रीलगायत छन् । लेखा समितिको निर्णय कार्यान्वयन भए फिफा विधान आकर्षित हुने र नेपालमाथि फुटबलमा अन्तर्राष्ट्रिय प्रतिबन्ध लाग्ने उल्लेख छ ।
प्रतिबन्धले राष्ट्रिय लिगलाई असर गर्ने र खेलाडीह पलायन हुने दाबी उनीहरुको छ । नेपाली फुटबलको भविष्य तहस नहस हुने भएकाले निर्णयमा पुनर्विचार गर्न आग्रह गरिएको छ ।
एन्फाकै कारण भौतिक पूर्वाधार निर्माण, खेल तथा खेलाडीहरुलाई व्यवसायीकतातर्फ उन्मुख गराएको ज्ञापनपत्रमा छ । एन्फामा झण्डै ५८ करोड भ्रष्टाचार भएको भन्दै लेखाले थापाको पद स्थगन गर्न निर्देशन दिँदै सम्पत्ति शुद्धीकरण विभागलाई छानबिनका लागि आग्रह गरेको थियो ।