संविधानको नाममा देशलाई अनिर्णयको बन्दी बनाएर नराखाै‌ : भण्डारी

काठमाण्डु टुडे २०७१ असोज २६ गते ९:३४ मा प्रकाशित

सुनसरी, २६ असोज – एमाले उपाध्यक्ष एवम् अखिल नेपाल महिला सङ्घकी केन्द्रीय अध्यक्ष विद्यादेवी भण्डारीले विभिन्न बहानामा संविधान जारी नगरी देशलाई अनिर्णयको बन्दी बनाएर राख्न नहुने बताएकी छन् ।

bidhya bhandari2आइतबार सुनसरीको खनरामा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै नेत्री भण्डारीले आगामी माघ ८ गते संविधान जारी गरेर देशलाई नयाँ शिराबाट अघि बढाउनुपर्ने कुरामा जोड दिइन् ।

नयाँ संविधान जारी गरेर स्थानीय निकायको चुनाव गराई देशलाई राजनीतिक रुपमा निकास दिने विषयम केन्द्रित हुनुपर्ने कुरामा पनि उनको जोड थियो।

यो संविधानसभाले पनि नेपाली जनताले चाहेको संविधान नदिने हो भने ६०१ जना सभासदलाई कहिलेसम्म पालेर राख्ने र मानवीय सम्वेदनशील मुद्दाहरुलाई अनिर्णयको घेरामा राखेर कहिलेसम्म नेपाली जनतालाई अन्यायमा पारिरहने त्यसलाई चिर्दै जानुपर्ने नेत्री भण्डारीको भनाइ थियो।

एमालेले अहिलेको सम्पूर्ण शक्ति नयाँ संविधान निर्माण गर्ने विषयमा केन्द्रित गरिरहेको उल्लेख गर्दै नेत्री भण्डारीले नयाँ संविधान संविधानसभाबाट नै निर्माण होस् भन्ने प्रक्रियालाई विशेष महत्व दिएर आएको पनि स्पष्ट पारिन् ।

विगतमा पनि संविधान जारी गर्ने वा लेखन गर्ने कार्य विभिन्न उपाय अवलम्बन गरेर ल्याउने गरेको दृष्टान्त प्रस्तुत गर्नुहुँदै २०४७ सालमा पनि पाँच सदस्यीय आयोगमार्फत संविधान आएको स्मरण गराएकी थिइन् ।

वैकल्पिक केन्द्रीय सदस्य तैयव हुसेनको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान तथा चियापान समारोहमा सुनसरी सुकुम्बासी आयोगका संयोजक खेमराज पोख्रेल स्थानीय नेताहरु हरि राई, भद्रनारायण चौधरी, सीता पौडेल, मौलाना मौलिकलगायतले पनि बोलेका थिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us