प्रहरीले ज्यान जोगाउन बारामा गोली चलायो : गृहमन्त्री

काठमाण्डु टुडे २०७१ असोज २६ गते ९:२२ मा प्रकाशित

काठमाण्डु, २६ असोज – उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले बारा गोलीकाण्डमा प्रहरीले सुरक्षाका निम्ति प्रहरीले गोली चलाएको बताएका छन् ।

bamdevआँखा फुटाउने तथा हात भाँच्ने प्रयास भएपछि प्रहरी गोली चलाउन बाध्य भएको व्यवस्थापिका संसदको बैठकमा जानकारी गराएका छन् ।

व्यवस्थापिका संसदको आइतबारको बैठक सुरु हुनासाथ सभासदहरुले घटनाबारे सरकारसँग स्पष्टीकरण मागेपछि मन्त्री गौतमले यस्तो जवाफ दिएका हुन् । मन्त्री गौतमले यस्तो घटना भएकोमा दुःख व्यक्त गरेका छन् ।

संसदमा गोलीकाण्डबारे जानकारी दिँदै गृहमन्त्री गौतमले भने-  अन्तिमसम्म गोली हान्ने आदेश दिइएको थिएन, एकजना प्रहरीको आँखामा गम्भीर चोट लाग्यो र प्रहरी ढल्न थाले । स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीमाथि भइरहेको आक्रमणको आत्मरक्षाका लागि गोली चलाउनु परेको हो ।’

सशस्त्र प्रहरीको गाडीमा पेट्रोल छर्किएर आगो लगाउँदा समेत गोली चलाउने आदेश नदिएको भन्दै मन्त्री गौतमले हवाइ फायरबाट पनि स्थिति शान्त नभएको र प्रहरीमाथि नै आक्रमण भएपछि बाध्य भएर गोली चलाएको बताए ।

साम्प्रदायिक सद्भाव खल्बल्याउने किसिमका नारा लगाउँदै प्रहरीमाथि आक्रमण भएको संकेत गर्दै गौतमले भने – ‘नेपाल ऐतिहासिक परीक्षणको घडीमा खडा भएका बेला सामाजिक सद्भाव जारी राख्नुपर्छ । म त्यो भाषा प्रयोग गर्दिँन, जसले सदभावना भड्काउँछ ।’

गृहमन्त्री गौतमले घटनाको छानविन गर्न समिति बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । मृतकका परिवारलाई क्षतिपूर्ति दिन पनि सरकार तयार रहेको बताउँदै उनले भने( ‘अहिले राखेको मागप्रति सरकार संवेदनशील छ । यो घटनालाई अरु उठाउनुहुन्न । दोषीमाथि कारबाही हुन्छ ।’

गृहमन्त्रालयका सहसचिव लक्ष्मीप्रसाद ढकालद्वारा आइतबार जारी प्रेस विज्ञप्तिमा बारा घटनाप्रति गृहमन्त्रीले दुःख व्यक्त गरेको र घाइतेहरुको उपचार सरकारले निशुल्क गर्ने जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us