बारा सिम्रौनगढ क्षेत्रमा निषेधाज्ञा जारी

काठमाण्डु टुडे २०७१ असोज २६ गते ६:५५ मा प्रकाशित

बारा, २६ असाेज –   सिम्रौनगढ जोड्ने २५ किमि गण्डक नहरको कच्ची सडक मर्मत गर्नुपर्ने माग गर्दै आन्दोलित स्थानीयको शनिबार प्रहरीको गोली लागि मृत्यु भएपछि त्यस क्षेत्रको स्थिति अहिले पनि भयग्रस्त छ ।

सहमतिका लागि स्थानीय नेता, सर्वसाधारण र प्रहरी छलफल गरिरहेका छन् । सडक मर्मत गर्नुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका विद्यार्थी, युवा र सर्वसाधारणसँगको झडपमा प्रहरीले गोली चलाएको हो ।

हरिहरपुर गाविस महादेवस्थानमा गोली चल्दा हरिहरपुर ७ नयका टोलका ४२ वर्षीय जयनारायण पटेलको शनिबार मृत्यु भएको थियो ।

पटेलको शवलाई स्थानीयले हिजोदेखि इलाका प्रहरी कार्यालय सिम्रोनगढ अगाडि राखेका छन् । तमलोपाका सहमहामन्त्री जितेन्द्र सोननले पटेलको शवलाई सहमतिपछि दाहसंस्कार गरिने बताए ।

शनिबारको झडपमा १७ जना प्रहरी र २५ प्रदर्शनकारी घाइते भएका छन् । झडप भएको स्थान सिम्रौनगढबाट २ किलोमिर उत्तरपश्चिममा पर्छ ।

सम्भावित जोखिमलाई कम गर्न स्थानीय प्रशासनले अहिले १२ बजेदेखि बेलुकी ६ बजेसम्म सिम्रौनगढ वरपर कर्फ्यु आदेश जारी गरेको छ ।

प्रदर्शनकारीले शनिबार सशस्त्र प्रहरीको ना१झ ७२० र ना१ग ५८८ नम्बरको गाडी जलाएका थिए ।

मृतकलाई सहिद घोषणासँगै परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, नहरको बाटोलाई ‘जयनारायण’ पथ नामकरण हुनुपर्ने, उनको सालिक बन्नुपर्ने र गोली चलाउने दोषीउपर कारबाही हुनुपर्ने प्रदर्शनकारीको माग छ।

प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले मृतक परिवारलाई क्षतिपूर्ति दिन गृहमन्त्रालयमा पहल भइरहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us