विदेशबाट फर्किएको भोलिपल्टै मृत भेटिए युवक

काठमाण्डु टुडे २०७१ असोज २६ गते ३:०१ मा प्रकाशित

काठमाण्डु, असोज– बहराइनबाट फर्किएको भोलिपल्टै धनकुटाका एक युवक होटेलमा मृत फेला परेका छन् ।
बिहीबार नेपाल फर्किएका रेवत पौडेलको घाँटी रेटिएको अवस्थामा शुक्रबार सुन्धाराको भारत गेस्ट हाउसमा शव भेटिएको हो । शव ब्लेडले घाँटी रेटिएको अवस्थामा फेला परेको हो ।
धनकुटा चानुवा–५ घर भएका उनी बहराइनको विमानस्थलमा काम गर्थे । एयर अरेबियाबाट बिहीबार बुलुका पौने १० बजे उनी नेपाल आइपुगेका थिए ।
भारत गेस्ट हाउसको ३०५ नम्बर कोठामा उनको शव शुक्रबार दिउँसो भेटिएको थियो । कोठा सफा गर्ने क्रममा होटेलका कर्मचारीले भुइँमा उनको शव देखिपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीका अनुसार घटनास्थलबाट एउटा ब्लेड पनि फेला परेको छ । सुरुमा हत्या भएको अनुमान गरिए पनि अनुसन्धानका क्रममा उनी आफैंले घाँटी रेटेर आत्महत्या गरेजस्तो देखिएको प्रहरीले जनाएको छ ।
‘हत्या भएको भए संघर्ष हुनुपथ्र्यो, तर त्यस्तो छैन्,’ अनुस्न्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘ऐनामा हेरेर आफैंले घाँटी काटेजस्तो देखिन्छ ।’ उनको घाँटीको अघिल्लो भाग काटिएको थियो ।
नेपाल फर्किएपछि उनलाई लिन छोरा र ज्वाइँ एयरपोर्ट पुगेका थिए । तर, आफू घुमेर फर्कने भन्दै उनी एयरपोर्टबाट नै छुट्टिका थिए । एयरपोर्टबाटै त्यसरी एक्लै हिँड्नुले पनि उनमा कुनै चिन्ता रहेको र त्यसैकारण आत्महत्या गरेको हुनसक्ने प्रहरी अधिकारीहरुले बताएका छन् । होटलमा पुगेको केही समयपछि उनी चुरोट किन्न निस्किएका थिए । उनले होटलको काउन्टरमा सलाइ मागेर चुरोट खाएको होटलका कर्मचारीले बताएका छन् ।
होटलको ढोका बन्द भए पनि भित्रबाट लक लगाइएको थिएन । घटनाको अनुसन्धान भइरहेको र घटनास्थलमा प्रहरीले फरेन्सिकका दुई चिकित्सक लगेको छ ।
नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us