सडक बनाउन माग गर्दा गाेली प्रहार

काठमाण्डु टुडे २०७१ असोज २६ गते २:३९ मा प्रकाशित

सिमरा, २६ असोज- सडक मर्मतको माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीयमाथि सशस्त्र प्रहरीले गोली चलाउँदा बाराको हरिहरपुरमा एकजनाको मृत्यु भएको छ । simara goliएकजना गम्भीर छन् ।

गोली लागेर हरिहरपुर–६ का जयनारायण पटेलको मृत्यु भएको हो । गम्भीर घाइते साह महम्मदको वीरगन्जमा उपचार हुन नसकेपछि शनिबारै काठमाडौं लगिएको छ । उनको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घटनापछि आक्रोशित स्थानीयले ना.१झ ७२० र ना.१झ ५८८ नम्बरका प्रहरीका दुई भ्यान जलाएका छन् ।

सदरमुकाम कलैया–सिम्रौनगढ सडक मर्मतको मागसहित आन्दोलन गर्दै आएका विद्यार्थीलाई शुक्रबार इलाका प्रहरी कार्यालय सिम्रौनगढले पक्राउ गरेपछि उत्पन्न विवादले शनिबार झडपको रूप लिएको थियो । विद्यार्थी पक्राउपछि शुक्रबारबाटै तनावपूर्ण रहेको स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीको थप बल जाने क्रममा शनिबार झडप भएको हो ।

बाराका प्रहरी उपरीक्षक ईश्वरबाबु कार्कीले सशस्त्र प्रहरी चढेको गाडीमा आगजनी गर्दै प्रहरीमाथि स्थानीयले आक्रमण गरेपछि झडप भएको बताए । सडक मर्मत गर्नुपर्ने स्थानीयको माग सम्बोधन गर्न ट्रिपर पठाएर मर्मत जारी रहँदा सुरक्षाका लागि गएका सशस्त्र प्रहरीलाई स्थानीयले घेराउ गरेको प्रशासनको दाबी छ ।

स्थानीयको आक्रमणमा परी प्रहरी निरीक्षक निरञ्जन थापा, सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर विष्ट, प्रहरी नायब निरीक्षक छविलालप्रसाद राउतसहित १५ प्रहरी घाइते भएको बारा प्रहरीले जनाएको छ ।

यसअघि शुक्रबार पनि प्रहरी र स्थानीयबीच भएको झडपमा करिब २० प्रहरी र दुई प्रहरी निरीक्षकसहित १५ प्रहरी घाइते भएका थिए ।

झडपमा ४० वर्षीय पटेलको मृत्यु भएपछि सिम्रौनगढ क्षेत्र झन् तनावग्रस्त भएको थियो । बाराका प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले स्थिति तनावग्रस्त बन्दै गएपछि सिम्रौनगढ क्षेत्रमा शनिबार अपराह्न ३ बजेदेखि साँझ ७ बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरेको बताए ।

तर, स्थानीयले कफ्र्युको समेत अवज्ञा गर्दै दिनभर प्रदर्शन गरेका थिए । बाराका प्रहरी प्रमुख एसपी कार्कीले भने, ‘स्थानीयले कफ्र्यु भनेकै बुझेनन्, हामीले कराबाहीको नाममा जथाभावी गर्न पनि मिलेन ।’

सहिद घोषणा माग
आक्रोशित स्थानीयले शनिबार अबेरसम्म पटेलको शवलाई इलाका प्रहरी कार्यालय सिम्रौनगढ अगाडि राखेर प्रदर्शन गरेका छन् । मृतक पटेललाई सहिद घोषणा गर्न माग गर्दै एकीकृत माओवादीका कार्यकर्ताले बारा सदरमुकाम कलैयामा शनिबार साँझ एक घन्टा चक्का जाम गरे । पटेल सो पार्टीका गाउँ कमिटी सदस्य थिए । मृतक पटेलका ५ छोरी र एक छोरा छन् ।

नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us