हिजो स्थगित उच्चस्तरीय समितिको बैठक आज

काठमाण्डु टुडे २०७१ असोज २६ गते २:२४ मा प्रकाशित

काठमाण्डु, २६ असोज– प्रमुख दलहरुद्वारा गठित उच्चस्तरीय राजनीतिक समितिको पहिलो बैठक आज बस्दैछ  ।
prachandaयसअघि हिजो बस्ने भनिएको बैठक समिति संयोजक एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यव्यस्तताका कारण स्थगित भएको थियो ।

बैठकको समय भने तय भइनसकेको प्रचण्डका स्वकीय सचिव चुडामणि खड्काले जानकारी दिए । बैठकमा समितिको सचिवालय र क्षेत्राधिकारबारे छलफल हुने उनले बताए ।
आलोपालो नेतृत्व गर्ने दलहरुबीचको पूर्वसहमतिअनुसार प्रचण्डले पहिलोपटक दुई महिना समितिको संयोजन गर्नेछन् । समितिमा कांग्रेस, एमाले र एमाओवादीका तीन–तीन जना तथा मधेसवादी दलका तीन, राप्रपा, माले र अन्य साना दलका तर्फबाट एक–एक जना रहने भनिए पनि नाम भने टुंगो लागेको छैन ।
प्रमुख दलहरुबीच गत २२ असोजमा उच्चस्तरीय राजनीतिक समिति गठनसहित पाँचबुँदे सहमति भएपछि व्यवस्थापिका संसदको ४० दिन लामो अवरोध हटेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us