किन बस्न सकेन उच्चस्तरीय समितिको पहिलो बैठक ?

काठमाण्डु टुडे २०७१ असोज २५ गते १२:५१ मा प्रकाशित

काठमाण्डु, २५ असोज– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको उच्चस्तरीय राजनीतिक समितिको शनिबार बस्ने भनिएको पहिलो बैठक बस्न prachandaसकेन ।
समिति संयोजक ‘प्रचाण्ड’ ले दिउँसो चार बजेका लागि  नयाँबानेश्वरस्थित संविधानसभा भवनमा समिति बैठक डाकेका थिए । एक कार्यक्रममा सहभागी हुन मुस्ताङ पुगेका प्रचण्ड काठमाण्डु आउन ढिला भएपछि उनले बैठक एक घण्टापछि सारेका थिए ।

तर प्रधानमन्त्री सुशील कोइरालासहित काँग्रेस नेताहरुले नभ्याउने बताएपछि बैठक स्थगित भएको प्रचण्डका स्वकीय सचिव चुडामणि खड्काले बताए । ‘रारा–लोमान्थाङ शान्ति पदयात्राको समापन गर्ने कार्यक्रम दुई महिनाअघि नै तय भएको थियो, बिहान ७ बजे काठमाण्डुबाट उड्ने भनेको हेलिकोप्टर मौसम खराबीका कारण ढिला भयो’, खड्काले भने, ‘एक घण्टापछि बसौं भन्दा काँग्रेसले आन्तरिक छलफलको कारण देखाएकाले बैठक बस्न सकेन ।’ उनले बैठकको अर्को मिति दलहरुबीचको छलफलबाट टुंगो लाग्ने जानकारी दिए ।
शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न सघाउने उद्देश्यका साथ दलहरुबीच केही दिनअघि समिसि गठनको सहमति भएको थियो । आलोपालो नेतृत्व गर्ने सहमतिअनुसार प्रचण्डले पहिलोपटक दुई महिना समितिको संयोजन गर्नेछन् ।
समितिमा कांग्रेस, एमाले र एमाओवादीका तीन–तीन जना तथा मधेसवादी दलका तीन, राप्रपा, माले र अन्य साना दलका तर्फबाट एक–एक जना रहनेछन् ।
दलहरुबीच गत २२ असोजमा उच्चस्तरीय राजनीतिक समिति गठनसहित पाँचबुँदे सहमति भएपछि व्यवस्थापिका संसदको ४० दिन लामो अवरोध हटेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us