सिरहा, २५ असोज– उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले कुनै हालतमा जातीय संघीयता हुन नसक्ने बताएका छन् ।
सिरहाको सुखीपुरमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले जातीय संघीयताले मुलुकमा काटमार मच्चिने बताएका हुन् । नेपालमा बहुभाषिक र बहुजातीय संघीयता हुनुपर्ने उनको भनाइ थियो ।
‘जातीय आधारमा संघीयतामा जाने हो भने काटमारको अवस्था आउँछ’, गौतमले भने, ‘बहुभाषिक र बहुजातीय पहिचानसहितको संघीय इकाइ हुनुपर्छ ।’ संविधानका विवादमा दलहरुबीच सहमति नभए प्रक्रियाबाटै भए पनि मााघ ८ मै संविधान जारी गर्नुपर्ने उनको भनाइ थियो । गौतमले सहमतिका नाममा लामो समय खर्चन नहुने बताए ।
अर्को एक फरक प्रसंगमा उनले नेपाल कुनै एक धर्मको मुलुक हुन नसक्ने प्रष्ट्याए । व्यक्तिगत रुपमा धर्म मान्ने अधिकार सबैको भएको भन्दै उनले त्यसमा राज्यको सरोकार नहुने उल्लेख गरे ।