काठमाण्डु, २५ असोज– नेपाली काँग्रेसले भावी संविधानमा ६ वा ७ प्रदेश बनाउने प्रस्ताव अघि सारेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको संसदीय दल र सभासद नरहेका केन्द्रीय सदस्यहरुको संयुक्त बैठकले पहाडमा तीनदेखि चार र तराईमा तीन प्रदेश बनाउने प्रस्ताव संवैधानिक राजनीतिक तथा सम्वाद सहमति समितिमा लैजाने निर्णय गरेको हो ।
यस्तै काँग्रेसले प्रदेशहरुको नामाङ्करण क्षेत्र वा नदीहरुका नामबाट गर्नेपर्ने निष्कर्ष निकालेको छ । बैठकले पूर्वी प्रदेश, पूर्वी तराई प्रदेश, राजधानी प्रदेश, पश्चिम तराई प्रदेश, पश्चिम प्रदेश र सुदूरपश्चिम प्रदेशको प्रस्ताव तयार पारेको सभासद जगदिश्वरनरसिंह केसीले जानकारी दिए ।
उनले ७ प्रदेशसहितको वैकल्पिक प्रस्तावमा सगरमाथा प्रदेश, जनकपुर प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र खप्तड प्रदेश प्रस्ताव गरिएको बताए ।