काठमाण्डु– युनिसेफले नेपाली क्रिकेट टिमका कप्तान पारस खड्कालाई हेपाहा व्यवहार गरेकोप्रति गायक राजेशपायल राईले आक्रोश पोखेका छन् ।
उनले शुक्रबार आफ्नो फेसबुकमार्फत फिल्म र राष्ट्रियता दुई फरक/फरक विषय भएको भन्दै आयोजकप्रति रोष व्यक्त गरेका हुन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘को आमिर खान ?’ हाम्रो राष्ट्रको क्रिकेट कप्तान पारस खड्कालाई कुराउने अनि हेप्ने त्यो आयोजकलाई कसले अधिकार दियो ? त्यही आमिर खान होइन, जसले नेपालीलाई होच्याएर चिसो भनेकै कोकाकोला भन्ने ?
अब उसले पनि मोदीजस्तै भारत पुगेर बुद्ध इन्डियामा जन्मेका हुन् भन्ने त होलान् ‘ हाम्रा लागि हाम्रो राष्ट्र महान् हो, आमिर होइन चेतना भया ‘फिल्म फिल्म हो, राष्ट्र र राष्ट्रियता फरक हो, इज्जत लिन र दिन सिकून् । जय देश ।’
युनिसेफले होटल याक एन्ड यतीमा आमिरलाई दक्षिण एसियाका सद्भावना दूत घोषणा गर्न बिहीबार आयोजित कार्यक्रममा पारसलाई नेपालका सद्भावना दूतको हैसियतमा निम्तो गरेर पनि मञ्चमा नराखी दर्शकदीर्घामा राखिएको थियो । आमिर र पारसले संयुक्त रूपमा युनिसेफको सुनौला १००० दिनको उद्घाटन गर्ने कार्यक्रम थियो ।