पाकिस्तानकी मलाला र भारतका कैलाश सत्यार्थीलाई नोबेल पुरस्कार

काठमाण्डु टुडे २०७१ असोज २५ गते ३:०४ मा प्रकाशित

एजेन्सी- यस वर्षको नोबेल शान्ति पुरस्कार दुई बालअधिकारवादीले पाएका छन् । भारतका कैलाश सत्यार्थी र पाकिस्तानकी किशोरी मलाला युसुफजाईले संयुक्त रूपमा malala-and-kailashनोबेल पुरस्कार पाएका हुन् ।

बालबालिकामाथि हुने गरेको दमनविरुद्ध संघर्ष गरेको र युवा तथा शिक्षाको अधिकारका पक्षमा गरेको योगदानको सम्मान गर्दै नर्वेजियन नोबेल कमिटीले उनीहरूलाई यो पुरस्कार दिने घोषणा गरेको हो । उनीहरूलाई आगामी डिसेम्बर १० मा ओस्लोमा आयोजना गरिने समारोहमा पुरस्कार वितरण गरिनेछ । पुरस्कारको राशि पदकसहित १४ लाख डलर रहेको छ ।

नर्वेजियन नोबेल कमिटीका अध्यक्ष थोर्बजोर्न जागल्यान्डले शुक्रबार ओस्लोमा भने, ‘बालबालिकाहरू विद्यालय जानुपर्छ, आर्थिक रूपमा शोषित हुनुहुन्न ।’

नोबेल पुरस्कार विजेता १७ वर्षीया मलाला नोबेल इतिहासकै सबैभन्दा कान्छी विजेता हुन् । पाकिस्तानमा बालिका शिक्षाको पक्षमा आवाज उठाउँदा दुई वर्षअघि तालिबानी आक्रमणको सिकार भएपछि उनी विश्वव्यापी चर्चामा आएकी थिइन् । पाकिस्तानको स्वात प्रान्तलाई तालिबानीले कब्जामा लिएपछि छात्राको स्कुल बन्द गराएका थिए ।

तर, मलालाले त्यसविरुद्ध आवाज उठाइन्, आफू पनि स्कुल गइरहिन् र अरूलाई पनि जान प्रेरित गरिरहिन् । सन् २०१२ को अक्टोबरमा स्कुलबाट फर्कने क्रममा उनी सवार बसमै पसेर तालिबानीले उनको टाउकोमा गोली प्रहार गरेका थिए । तत्काल बेलायतको बर्मिङघम अस्पतालमा लगेर उपचार गराएपछि उनी बाँचेकी थिइन् । अहिले उनी परिवारसहित बर्मिङघममै बस्छिन् ।

नोबेल कमिटीले पुरस्कार घोषणा गर्ने वक्तव्यमा भनेको छ, ‘युवा उमेरका बाबजुद मलालाले बालिका शिक्षाको पक्षमा कैयौँ वर्ष संघर्ष गरिसकेकी छिन् र बालबालिका र युवाले पनि आफ्नो अवस्थामा सुधार गर्न योगदान दिन सक्छन् भनेर उदाहरण दिएकी छिन् ।’

मलाला ११ वर्षको उमेरदेखि टेलिभिजनहरूमा अन्तर्वार्ता दिँदै बालिका शिक्षाको पक्षमा अभियान चलाउँथिन् । १३ वर्षको उमेरमा तालिबान शासनको अत्याचारका बारेमा छद्म नाममार्फत ब्लगिङ गर्थिन् । उनको ‘आई एम मलाला’ शीर्षकको पुस्तक प्रकाशित छ । उनले यसअघि युरोपियन संसद्को ‘शाखारोभ अवार्ड’ जितिसकेकी छिन् ।

मलालाका बाबु जियाउद्दिन युसुफजाईले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै पुरस्कारले मलालाको साहसलाई प्रोत्साहन गर्ने र बालिका शिक्षाका पक्षमा काम गर्ने क्षमतालाई वृद्धि गर्ने बताएका छन् ।

यस्तै, भारत मध्यप्रदेशको विदिशाका ६० वर्षीय सत्यार्थीले लामो समयदेखि बालबालिकालाई बाल मजदुरीबाट छुटाएर उनीहरूलाई शिक्षासँग जोड्ने अभियान चलाउँदै आएका छन् । उनको संगठन ‘बचपन बचाओ आन्दोलन’ले अहिलेसम्म ८० हजार बालबालिकालाई बाल मजदुरीबाट मुक्त गराइसकेको दाबी गरेको छ ।

नोबेल कमिटीले सत्यार्थीले महात्मा गान्धीको परम्परालाई अघि बढाउँदै बालबालिकाको अधिकारका लागि संघर्ष गरेको उल्लेख गरेको छ । पुरस्कार प्राप्त गरेपछि सत्यार्थीले मलालासँग मिलेर बाल मजदुरी रोक्नका लागि काम गर्ने इच्छा रहेको बताएका छन् । ‘म यो पुरस्कार विश्वकै बालबालिकामा समर्पित गर्छु,’ उनले भनेका छन् ।

पेसाले इलेक्ट्रोनिक इन्जिनियर भए पनि उनले २६ वर्षको उमेरमा करिअर छाडेर बालबालिकाका लागि काम गर्न सुरु गरेका थिए । सत्यार्थीको वेबसाइटका अनुसार बाल श्रमिकलाई छुटाउने क्रममा उनीमाथि आक्रमणसमेत भएको थियो । यसअघि उनले सन् १९९४ ‘द एयकनर इन्टरनेसनल पिस अवार्ड’, सन् १९९५ मा अमेरिकाको ‘रबर्ट एफ केनेडी ह्युमन राइट्स अवार्ड’ र सन् २००९ मा अमेरिकाकै ‘डिफेन्डर्स अफ डेमोक्रेसी अवार्ड’ हात पारिसकेका छन् ।

पहिलोपटक भारत–पाकलाई संयुक्त नोबेल
पहिलोपटक भारतीय र पाकिस्तानीलाई संयुक्त नोबेल शान्ति पुरस्कार मिलेको छ । उनीहरू दुवै बालबालिकाको शिक्षालगायतका अधिकारका पक्षमा संघर्ष गर्ने अभियन्ता रहनु पनि यो पुरस्कारको संयोग रहेको छ । यस्तै, भारत र पाकिस्तानबीच सीमामा ठूलो तनाव भइरहेका वेला दुवै देशका नागरिकलाई संयुक्त रूपमा नोबेल शान्ति पुरस्कार दिइएको छ । संयुक्त पुरस्कार पाउनेमा सत्यार्थी हिन्दू हुन् भने मलालाचाहिं मुस्लिम ।

नोबेल कमिटीले एकजना हिन्दू र अर्की मुस्लिम, एकजना भारतीय र अर्की पाकिस्तानी भए पनि शिक्षाको पक्षमा र चरमपन्थका विरुद्धमा संयुक्त संघर्ष गरेको पक्षलाई महत्त्वका साथ लिइएको उल्लेख गरेको छ । कमिटीले वक्तव्यमा भनेको छ, ‘उत्पीडनका विरुद्ध र बालबालिका तथा युवाको अधिकारका पक्षमा गरेको संघर्षले ‘देशहरूबीचको भ्रातृत्व’को सपना साकार बनाउन योगदान गर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us