पारसलाई यस्तो हालतमा पुर्‍याउने को– को ?

काठमाण्डु टुडे २०७१ असोज २५ गते ३:५२ मा प्रकाशित

काठमाण्डु, २५ असोज– पूर्वयुवराज पारस शाहको पछिल्लो पक्राउमा धेरथोर दोष निर्मल निवासको पनि देखिन्छ ।
paras-at-Thailand1पारसका कमजोरीबारे सबैभन्दा बढी जानकार भएर पनि निर्मल निवासले उनलाई नेपाल आउन स्वीकृति दिएको छैन । र, एक्लै थाइल्यान्डमा छोडिदिएको छ, जहाँ रक्सी र गाँजा खाएपछि सम्पूर्ण होस गुमाउने उनलाई नियन्त्रण गर्ने कोही छैन । त्यही कारण असारयता मात्रै उनी दुईपटक पक्राउ परिसकेका छन् । त्यो पनि गाँजासहित ।
गत साल हृदयघात भएर लामो समय अस्पताल बसेका पारस त्यसपछि करिब ६ महिना सुधार गृहमा बसे । त्यसपछि नेपाल आउन चाहन्थे । उनको अधिकांश समय पुस्तक पढ्ने र डायरी लेख्ने गरेर बित्न थालेको थियो । दैनिक डायरी लेखनमा उनले देशप्रतिको माया र स्नेह पोख्दै नेपाल फर्केर आफ्नो गल्तीप्रति प्रायश्चित गर्दै मातृभूमिका लागि केही गर्ने लेखेका थिए ।
तीव्र इच्छा देखाएपछि उनलाई नेपाल फर्कने टिकट पनि काटिएको थियो । तर फर्केनन् । कारण थियो, निर्मल निवासको अस्वीकृति । उनलाई तत्काल नेपाल नआउन भनियो । हृदयघात हुनुअघि निर्मल निवासले उनलाई खर्च पठाउन बन्द गरिदिएको थियो । तर, उनी नेपाल आउन चाहेपछि फेरि पठाउन थालियो । यो आउन नदिने उपाय थियो । चेङमाई सुधारगृहबाट उनी केही महिनाअघि मात्रै बैंकक फर्केका थिए ।
स्रोतका अनुसार पारसलाई नेपाल आउन नदिनुमा मूलतः तीन कारण छन् । पहिलो थाई प्रेमिका कन्निका चाइनसँगै आइदिने हुन् कि भन्ने चिन्ता । किनभने, थाइल्यान्डमा उनी अहिले पारससँगै बस्छिन् । उनी आइदिइन् भने त्यसले पूर्वराजपरिवारलाई अप्ठारो त पर्छ नै, थप सामाजिक बेइज्जती पनि हुनेछ । त्यसले निर्मल निवास भयग्रस्त छ ।
दोस्रो कारण हो, पारस नेपाल रहे भने उनका क्रियाकलापका कारण पूर्वराजालाई पर्ने हानी । किनभने, उनले पुरानै हर्कत दोहोर्‍याउन थाले भने भित्रभित्र भइरहेको राजनीतिमा असर पर्नेछ । राजतन्त्र जानुमा पारसको नकारात्मक छविले निकै ठूलो भूमिका खेलेको थियो ।
तेस्रो कारण हो, पारसको आगमन पूर्वराजाका ती सल्लाहाकारहरुलाई मन परेको छैन, जसले उनको अनुपस्थितिमा निर्मल निवासको प्रशासन र आर्थिक स्रोतमा हालीमुहाली जमाइरहेका छन् ।
कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us