काठमाण्डु, २५ असोज– त्यागी’ प्रधानमन्त्री सुशील कोइरालाले आफ्ना कार्यकर्तालाई दसैंखर्च पनि राज्य कोषबाटै दिएका छन् । प्रधानमन्त्रीको निर्देशनमा प्रधानमन्त्री तथा
मन्त्रिपरिषद् कार्यालयले दुई सय ९४ जनालाई २२ लाख ३० हजार पाँच सय रुपैयाँ वितरण गरेको हो ।
रकम पाउनेमा प्रधानमन्त्री, स्वकीय सचिव, मन्त्री तथा कांग्रेसका विभिन्न नेता निकट छन् । उनीहरुले दुई हजार पाँच सयदेखि २५ हजार रुपैयाँसम्म पाएका छन् ।
प्रधानमन्त्री कोइरालकै निर्देशन बमोजिम उनका स्वकीय सचिव रमेश शर्मा भण्डारीको तोक आदेशमा १० असोजदेखि १२ असोजसम्म दुई सय ९४ जनालाई रकम दिने निर्णय प्रधानमन्त्री कार्यालयले गरेको थियो ।
सबैको नाममा चेक काटिएको भए पनि आधाभन्दा बढी व्यक्ति रकम बुझ्न आएका छैनन् । स्रोतका अनुसार एकैपटक करिब दुई सय ९४ जनालाई रकम दिने निर्णय भएपछि प्रधानमन्त्री कार्यालयलाई रकमको जोहो गर्न समस्या भएको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आर्थिक प्रशासन शाखाका अनुसार प्रधानमन्त्री सहायता कोषमा ११ लाख रुपैयाँ मात्रै मौज्दात थियो । तर, एकैपटक २२ लाख वितरण गर्ने निर्णय भएपछि प्रधानमन्त्री कार्यालयले रकम वितरण गर्न अपुग भएको भन्दै दसैंअघि नै अर्थ मन्त्रालयसँग थप २० लाख माग गरेको थियो ।
नयाँ पत्रिकाबाट