खुमबहादुरको सेनामा रुक्माङगत कटवाल !

काठमाण्डु टुडे २०७१ असोज २४ गते ६:२८ मा प्रकाशित

काठमाण्डु, २४ असोज– नेपाललाई पुन: हिन्दू राष्ट्र कायम गराउने भन्दै अभियान थालेका काँग्रेस नेता खुमबहादुर खड्कालाई पूर्वप्रधानसेनापति रक्माङगत कटवालले साथ rukmangadदिएका छन् ।
स्रोतका अनुसार कटवालले खड्काको सैन्य सल्लाहकारका रुपमा काम गर्नेछन् । हिन्दू राष्ट्र बनाउन खड्काले ‘धर्मरक्षक गोरक्ष सेना’ गठन गरेका छन् । सेनाको बाहिनीपति  भने काँग्रेस कार्यकर्ता धनबहादुर कुँवर छन् । नयाँबानोश्वरमा बिहीबार भएको अभियान घोषणा कार्यक्रममा कटवाल पनि सहभागी थिए ।

हालै प्रकाशित आफ्नो आत्मबृत्तान्तमा कटवालले नेपाल राजतन्त्रात्मक हिन्दू राष्ट्र हुनुपर्ने उल्लेख गरेका छन् । आफूले राजतन्त्र र हिन्दूधर्मको रक्षाका लागि सक्दो कोसिस गरे पनि पूर्वराजा ज्ञानेन्द्र शाह तयार नभएकाले सफल नभएको उनको भनाइ छ ।

स्रोतका अनुसार कटवालले खड्कालाई ‘सबै प्रकारको सहयोग’ गर्ने बचन दिएका छन् । कार्यक्रममा खड्काले आफूहरुको शान्तिपूर्ण अभियानमा दमन भए हतियार उठाउने चेतावनी दिएका थिए ।
कार्यक्रममा काँग्रेस नेताहरु केबी गुरुङ, दिपकुमार उपाध्यया, पूर्वसभामुख तारानाथ रानाभाटलगायत करिब दुई दर्जन केन्द्रीय सदस्य र तीन दर्जनको हाराहारीमा सभासद उपस्थित थिए ।

पूर्वलडाकु र भगौडा सेना प्रहरी पनि खुमबहादुरको सेनामा
यसैबीच खुमाबहादुरको ‘धर्मरक्षक गोरक्ष सेना’ मा पूर्वलडाकुदेखि सशस्त्र द्वन्द्वका समयमा जागिर छाडेर भागेका सेना र प्रहरीका भगौडासमेत सामेल छन् । उनीहरुलाई मासिक रुपमा पारिश्रमिक नै दिने गरी नियुक्त गरिएको छ । पुनर्बहालीको माग सरकारले नसुनेपछि भगौडा सेना प्रहरी आन्दोलन छाडेर खुमबहादुरतिर लागेका हुन् । पूर्वलडाकु पनि पार्टीले राजनीतिक कामको जिम्मा नदिएपछि लामो समयदेखि बेरोजगार छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us