मलेसिया र खाडीबाट महिनामै लाख कामदार माग

काठमाण्डु टुडे २०७१ असोज २४ गते ३:०८ मा प्रकाशित

काठमाण्डु, २४ असोज– म्यानपावर एजेन्सीहरुले भदौमा मलेसिया र खाडीलगायत मुलुकबाट एक लाखभन्दा बढी नेपाली कामदारको माग ल्याएका छन् ।

यो संख्या गत वर्षको सोही अवधिको भन्दा दुई सय ३१ प्रतिशतले बढी हो । गत वर्ष भदौमा म्यानपावरहरुले ३० हजार तीन सय ३० कामदारको माग ल्याएका थिए ।

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांंकअनुसार म्यानपावर एजेन्सीहरुले भदौमा विभिन्न मुलुकबाट एक लाख चार सय ६६ कामदारको माग ल्याएका हुन् । कुल मागको ५१ प्रतिशत अर्थात ५१ हजार पाँच सय ५१ कामदार विदेश गइसकेका छन् ।

खाडी मुलुकमा पूर्वाधार निर्माण तीव्र हुनु र मलेसियाले बंगलादेशी नागरिकलाई बन्द गरेर अदक्ष नेपाली कामदार लिएकाले माग हृवात्तै बढेको विभागले जनाएको छ ।
भदौमा सबैभन्दा बढी माग कतारबाट आएको छ ।

कतारबाट ४७ हजार ९५ कामदारको माग आएको छ । कतारको माग र जाने कामदारको धेरै अन्तर छ । निर्माण क्षेत्रमा बढी माग आउने भएकाले माग बमोजिम कामदार पठाउन नसकिएको वैदेशिक रोजगार व्यवसायी बताउँछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us