काठमाण्डु, २३ असोज- एकीकृत माओवादीले आगामी ८ माघमा जारी गर्ने भनिएको नयाँ संविधान सहमतिको हुनुपर्ने निष्कर्ष निकालेको छ ।
सिंहदरबारमा बिहीबार बसेको संसदीय दलको बैठकले बुँदे समझदारी, वृहत शान्ति सम्झौता, अन्तरिम संविधान तथा आदिवासी, जनजाति, मधेसी, महिला, दलित र पिछडिएका क्षेत्रसँग गरिएको सम्झौताका सहमतीय संविधान जारी गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
बैठकले सहमतीय संविधानका लागि एमाओवादीसहित संघीय गणतान्त्रिक गठबन्धन र संघीय लोकतान्त्रिक राष्ट्रिय गठबन्धन आवद्ध दलहरुद्वारा २४ गतेदेखि घोषित आन्दोलनका कार्यक्रमप्रति ऐक्यबद्धता जनाइएको प्रमुख सचेतक गिरिराजमणि पोखरेलले जानकारी दिए ।
नेपाली जनताको युगान्तकारी परिवर्तनकारी आकांक्षालाई मुखरित गर्न ‘पहिचानसहितको नयाँ संविधान’ प्रक्रियाद्वारा नभई सहमतिद्वारा गठन गर्न यो आन्दोलनले सहयोग गर्ने भन्दै आन्दोलन सफल पार्न सभासदहरुलाई अपिल गरिएको छ ।
यस्तै बैठकले दसैंका बेला डोटी, धादिङ सिन्धुलीलगायत देशका विभिन्न ठाँउमा भएका दुर्घटनामा मृत्यु भएकाहरुप्रति श्रदान्जली व्यक्त गर्दै मृतक परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
दुर्घटनामा घाइते भएकाको शिघ्र स्वास्य लाभको कामना गर्दै आगामी दिनमा यस प्रकारका घटना दोहोरिन नदिन तथा सडक दुर्घटनाबाट हुने मानवीय क्षति रोक्नका लागि पहल लिन र मृतक परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेहरुको उपचारको व्यवस्था गर्न एमाओवादीले सरकारसगँ माग गरेको छ ।