
एजेन्सी – पछिल्लो समय उत्तर कोरियामा भएका घटनाहरुले विश्वलाई चकित बनाइदिएका छन् । कारण–उत्तर कोरियाका नेता किम जोङ उन हराइरहेका छन् ।
किमलाई अन्तिमपटक ३ सेप्टेम्बरमा कार्यक्रममा सहभागी भएको उत्तर कोरियाले जनाएको थियो । तर,त्यसपछिका महत्वपूर्ण घटनामा पनि उनी देखिएका छैनन् । मंगलबार कोरियामा मनाइएको वर्कर्स पार्टीको १७ औं वार्षिकोत्सवमा पनि किम देखिएनन् ।
त्यस्तै दक्षिण कोरियासँग पछिल्लो समय भएका महत्वपूर्ण भेटघाटबारे किमका प्रतिक्रिया बाहिर आएका छैनन् । महत्वपूर्ण कार्यक्रममा नदेखिनु र कोरियाली सञ्चार माध्यमले पछिल्लो समय किमका भनाइ बाहिर नल्याएपछि आशंका गर्न थालिएको छ, कतै किम बर्खास्तमा त परेनन् ? अमेरिकी सञ्चारमाध्यम सिएनएनले यसबारे खोजी पनि गरेको छ ।
तर, उत्तर कोरियाली अधिकारीहरुले किमबारे कुनै जानकारी दिएका छैनन् । किमबारे अन्य सञ्चारमाध्यमले पनि अति चासो दिन थालेपछि उत्तरकोरियाको सरकारी सञ्चार समितिले एक वाक्यमा मात्र जानकारी दिएको थियो, किम बिरामी छन् ।
तर दक्षिण कोरियासँग विभिन्न वार्तामा कोरियाका दोस्रो र तेस्रो नम्बरका नेताले गरिरहेका भेटघाटबारे पनि किमको कुनै धारणा सार्वजनिक भएको छैन । त्यसैले,अहिले उत्तर कोरियालाई किमले नेतृत्व गरिरहेका छैनन् कि भन्ने आशंका बढ्न थालेको छ ।
एकातिर विश्लेषकहरु किमका बाबुको समयका सुरक्षा प्रमुखहरुले किमलाई बर्खास्त गरेको हुनसक्ने पनि धारणा राख्छन् । उनीहरु भन्छन्,‘किम सांकेतिक रुपमा मात्र कोरियाका नेता थिए,उनमा एक नेतामा हुनुपर्ने सबै गुण नै थिएनन् ।’ त्यसमाथि कोरियाली सुरक्षा अधिकारीले समयसमयमा किम मोटाएको विषयमा गुनासो गर्थे । त्यसैले पनि उनलाई सत्ताबाट बाहिर निकालेको हुनसक्ने आशंका छ ।