काठमाण्डु, २३ असोज चाडबाडका बेला सरकारले सुपथ मूल्य पसलमार्फत उपभोक्तालाई खाद्यान्नमा केही सहुलियत दिने गरेको छ ।
तर यस्ता पसल सहरमा मात्र केन्द्रित भएपछि ग्रामीण क्षेत्रका जनता सहुलियतबाट बञ्चित भएका छन् । सुपथ मूल्य पसलबाट सहरका बासिन्दाले चिनी,चामल तथा नुनमा छुट पाउने गरेका छन् । तर, यही सुविधा ग्रामीण भेगका जनतालाई दिन सरकारले चासो दिएको छैन ।
यस्तो पसलमा ६७ रुपैयाँ बजार मूल्य रहेको चिनी ६२ रुपैयाँ प्रतिकेजीमा पाइन्छ । त्यस्तै ६० रुपैयाँ प्रतिकिलो पर्ने जिरा मसिनो चामल ५५ रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ । सरकारले सुपथ मूल्य पसल काठमाण्डु उपत्यका र बाहिरी जिल्लाका केही प्रमुख सहरमा मात्र राखेको छ ।
१ असोजबाट सालट ट्रेडिङ ,नेसनल ट्रेडिङ ,खाद्य संस्थान र दूग्ध विकास संस्थान मिलेर उपत्यकाका १२ स्थानमा सुपथ मूल्य पसल राखेका छन् । साल्ट ट्रेडिङले उपत्यकाबाहिर आफ्नो कार्यालय रहेको २५ जिल्लामा छुटसहितको पसल थापेको छ ।
संस्थान परिचालन गरी सुपथ मूल्य पसल सञ्चालन गरेको बाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता दीपक सुवेदीले गाउँ र पहाडी भेगमा पनि आगामी वर्ष सुपथ मूल्य पसल सञ्चालन गर्नेबारे तयारी थालेको बताए । नयाँ पत्रिकाबाट