काठमाण्डु, २२ असोज- प्रधानमन्त्री सुशील कोइराला र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब एक घण्टासम्म चलेको भेट वार्तामा संविधान निर्माणका जटिलता र अवरुद्ध संसद सुचारु गराउने विषयमा छलफल भएको थियो ।
भेटमा प्रधानमन्त्री कोइरालाले पूर्वनिर्धारित कार्यतालिकाअनुसार माघ ८ मै संविधान जारी गर्न दलहरुबीच सहकार्य आवश्यक रहेको बताएका थिए । यस्तै प्रधानमन्त्रीले लामो समयसम्म संसद अवरुद्ध हुँदा जनतामा सकारात्मक सन्देश नजाने भन्दै अवरुद्ध संसद सुचारु गराउन सहयोग गर्न प्रचण्डलाई आग्रह गरेको उनका प्रेस संयोजक प्रकाश अधिकारीले बताए ।
जवाफमा प्रचण्डले दलहरुबीचको सहमतिअनुसार उच्चस्तरीय राजनीतिक संयन्त्र गठन भए संसद खुलाउन तयार रहेको बताएका छन् । प्रचण्डका सहयोगी शिव खकुरेलका अनुसार प्रचण्डले सहमति कार्यान्यवनका लागि अग्रसरता लिन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।