लिम्बुवान् क्रान्तिकारीको बन्दले मेची राजमार्ग ठप्प

काठमाण्डु टुडे २०७१ असोज २२ गते ७:१८ मा प्रकाशित
सुनसरी, २२ असोज-पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै लिम्बुवान् क्रान्तिकारी पार्टीले बुधबार बिहानैबाट मेची राजमार्ग अवरुद्ध पारेको छ।
पाँचथरको फिदिमबाट प्रहरीले केही महिनाअघि पक्राउ गरेका पार्टीका कार्यकर्ता मनिष हेल्लोकलाई बिनासर्त रिहाइको माग गर्दै उक्त पार्टीले  बुधबारबाट अनिश्चितकालका लागि मेची राजमार्ग अवरुद्ध पारेको हो ।
लिम्बुवान् क्रान्तिकारी पार्टीको बन्दका कारण बिहानैबाट झापा हुँदै ताप्लेजुङसम्म जाने र ताप्लेजुङबाट पाँचथर, इलाम, हुँदै झापा आउने सवारीसाधन ठप्प भएको अञ्चल प्रहरी कार्यालय मेची चन्द्रगढीले जनाएको छ। अचानकको बन्दका कारण यात्रु समस्यामा परेका छन् ।
पार्टीका केन्द्रीय अध्यक्ष मिसेकहाङका अनुसार आफ्ना कार्यकर्ता हेल्लोकलाई पाँचथरको कावेली करिडोरका ठेकेदारलाई बन्धक बनाइको आरोपमा पाँचथर प्रहरीले पक्राउ गरेको हो ।
हेल्लोक कावेली करिडोरसँग आइएलओ १६९ का सम्बन्धमा परामर्श गर्ने क्रममा प्रहरीले झुटो आरोप लगाई पक्राउ गरेको अध्यक्ष मिसेकहाङको भनाइ छ। उनलाई तत्काल रिहा नगरे कात्तिक १ गतेबाट दोस्रो चरणको आन्दोलन सुरु गरिने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us