नवविवाहित जोडीको चुमान विधि सम्पन्न

काठमाण्डु टुडे २०७१ असोज २२ गते ७:११ मा प्रकाशित
nava bibahitधनुषा, २२ असोज- कोजाग्रत पूर्णिमासँगै महोत्तरीसहितका मिथिला क्षेत्रका नवविवाहित जोडीको ‘चुमान’ विधि मङ्गलबार राति सम्पन्न भएको छ।
पछिल्लो एक वर्षभित्र विवाह भएका दम्पतीको पहिलो कोजाग्रत पूर्णिमाका दिन दुलही पक्षका आफन्तले दुलहाका घरमा गएर गरिने वरपुजन परम्पराको ‘चुमान’ विधि गएराति महोत्तरीसहितका मिथिलाक्षेत्रमा सम्पन्न भएको हो।
सामान्यतया आफ्नी कन्याको विवाहपछि राम्रो प्रतिपाल गरेका ज्वाइँप्रति कृतज्ञता जनाउन दुलही पक्षका आफन्त सगुन लिएर दुलहाका घर गएर वर (दुलहा) पुजन गर्ने पुरानो मैथिल परम्परालाई ‘चुमान’ भन्ने गरिएको छ। यस अवसरमा दुलही पक्षकाले दुलहाका लागि वस्त्रआभूषण र मिष्टान्न परिकार भेट गर्ने (उपहार दिने) परम्परा रहेको मिथिला लोक परम्पराकी जानकार जलेश्वरस्थित महेन्द्र आदर्श महिला उच्च विद्यालयकी शिक्षक नायडु नेपालीले बताए।
मिथिला क्षेत्रमा खासगरी मैथिल ब्राह्मण र कायस्थ जातिमा बाक्लो प्रचलनमा रहेको ‘चुमान’ विधि पछिल्लो एक दशकयता भने अत्यन्त भड्किलो बन्दै गएको यस क्षेत्रका बुद्धिजीवीको टिप्पणी छ। दुलही पक्षकाले ज्वाइँसहित उनका पिता र आफन्तका लागि वस्त्रआभूषण दिनुपर्ने माग र सयौँ मान्छेलाई खानपान गराउनुपर्ने दुलहा पक्षकाको प्रस्तावले यो विधि भड्किलो बन्दै गएको जिल्लाकै मटिहानीस्थित नेपाल राजकीय संस्कृत माध्यमिक विद्यालयका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झाको भनाइ छ।
भेटका लागि वस्त्रआभूषण, मिष्टान्न परिकार, दही, मखान (तलाउको पानीमा फल्ने मिथिलाको एक फल विशेष) र फलफूलसहितका ५० भन्दा बढी भार (सोली) लिएर दुलहाको घर हिँडेको दुलही पक्षका आफन्तको लामो लावालस्करले विवाहकै झझल्को दिने र असाध्यै खर्चिलो हुने गरेबाट अब यो विधि टार्न गरिबलाई धौधौ पर्ने गरेको मैथिल ब्राह्मण जातिकै बूढापाकाको टिप्पणी बाक्लिएको देखिन्छ। विगतमा एक बिँडा पान, केही मखान, एकजोर धोती र जनै सुपारीले धानिने गरिएको परम्परा थेग्न अब भने घरखेत बेच्नुपर्नेसम्मको स्थिति आएको भङ्गाहा–३ का ६५ वर्षीय मैथिल ब्राह्मण चन्द्रकान्त झाले बताए।

पिता–पुर्खाले आपसी सद्भाव वृद्धिका लागि यो विधि परम्पराको सुरुआत गरे पनि पछिल्लो समयमा यो विधि आडम्बर र अहङ्कार प्रदर्शनजस्तै बनेकाले अबको पुस्ताले यसलाई कम खर्चिलो बनाउन सामाजिक दबाब बढाउन आवश्यक देखिएको यस क्षेत्रका बुद्धिजीवी बताउँछन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us