काठमाण्डु, २२ असोज दशैं सुरु भएको घटस्थापनादेखि पुर्णिमासम्ममा सडक दुर्घटनामा देशभर १ सय ३८ जनाको ज्यान गएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बस, ट्रक, टेम्पो, कार मोटरसाईकल लगायतका सवारी दुर्घटनामा परेर उनीहरुको ज्यान गएको हो ।
त्यसमा ९० पुरुष, ३८ महिला, ३ बालक र ८ बालिकाको ज्यान गएको हो । २ सय ४४ जना गम्भीर घाइते भएका छन् । अघिल्लो बर्षको दशैंमा ७० जनाले सडक दुर्घटनामा ज्यान गुमाएका थिए ।
घटस्थापनापछि शहरबाट गाउँमा दशैं मनाउन जानेको घुईचो र गुणस्तरहिन सडकका कारण दुर्घटना भएको हो । प्रहरी मुख्यालयको कार्य बिभाग प्रमुख अतिरिक्त महानिरीक्षक ९एआईजीपी० गणेशराज राई दशैंका बेला क्षमता भन्दा बढी यात्रु बोकेर हिड्ने गरेका सवारी साधनहरु बढि दुर्घटनामा पर्ने बताउँछन् ।
‘कच्ची सडकमा क्षमता भन्दा बढि यात्रु र थोत्रा बसहरु चलाउँदा दुर्घटना बढि हुने गरेको हो’, उनले भने ‘गाउँका कतिपय कच्ची सडकमा प्रहरी कार्यायल पनि हुदैनन्, नत प्रहरी नै पुग्छन् ।’
प्रहरीको आखाँ छलेर बस भित्र र छतमा क्षमता भन्दा बढी यात्रु राखिनाले दुर्घटना हुने गरेको उनको भनाई छ । ‘केहि पैसाको लागि धेरै यात्रुको ज्यान जोखिममा राखेर कठिन यात्रा गराउने गरिएको छ’, राईले भने, ‘त्यस्तोमा यात्रुले समेत आफ्नो सुरक्षाका लागि जोखिम मोलेर सवारी चढ्न नहुने हो ।’
कच्ची सडक बाहेक कालोपत्रे गरिएका ठुला राजमार्गमा समेत दुर्घटना भई सर्वसाधारणले ज्यान गुमाउने गरेका छन् । क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय ईटहरीमा २८ जनाको दुर्घटनामा परि ज्यान गएको छ ।
पथलैयामा २३, बुटवलमा २६, कोहलपुरमा १४ र अत्तरीया क्षेत्र अन्तर्गत ३६ जनाले ज्यान गुमाएका छन् । काठमाडौं उपत्यकामा भने यो पटक दुर्घटनाको संख्यामा कमी आएको छ । यो बर्ष काठमाडौं, ललितपूर र भक्तपुरमा सवारी दुर्घटनामा परी एक महिला, पूरुष र बालिका सहित ३ जनाको मात्र ज्यान गएको आजको कान्तिपुर दैनिकमा खबर छ । अघिल्लो बर्षको दशैंमा ८ जनाको ज्यान गएको थियो ।
ट्राफिक महाशाखाले लागु गरेको मादक पदार्थ सेवन ९मापसे० अभियानका कारण राजधानीमा दुर्घटनामा ज्यान गुमाउनेहरु कमी भए ।