शीर्ष नेताबीच सिंहदरबारमा यस्तो भनाभन

काठमाण्डु टुडे २०७१ असोज २१ गते १०:१३ मा प्रकाशित

काठमाण्डु, २१ असोज संविधानका विवादित विषयमा सहमति जुटाउन मंगलबार बसेको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको बैठकमा शीर्ष नेताबीच चर्काचर्की भएको छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकको सुरुमै आफ्नो नेतृत्वको मोर्चालाई कम नआँक्न चुनौती दिए । काँग्रेस एमालेका नेताले प्रचण्ड नेतृत्वको मोर्चा संविधान निर्माणको विपक्षमा रहेको अरोप लगाएपछि उनले प्रतिवाद गरेका हुन् ।

आफूहरुले संविधान निर्माणमा सकारात्मक दबाब सिर्जना गर्न मोर्चा बनाएको भन्दै प्रचण्डले बहुमतको आडमा पेल्न खोजे परिणाम नराम्रो हुने चेतावनी दिए । प्रचण्डले तत्कालिन संसदको तेश्रो शक्ति आफ्नो पार्टीलाई पेलन खोजेका कारण मुलुक द्वन्द्वमा गएको भन्दै काँग्रेस एमालेको अझै सदवुद्धि आउन नसकेको बताए ।

आफूहरुले जनयुद्ध सुरु गर्दा गुलेली चलाएर क्रान्ति नहुने भन्दै होच्याउनेहरुले अहिले फेरि हेप्न थालेको उनको भनाइ थियो । प्रचण्डले सहमतिमा संविधान बनाउन आफूहरु अझै लचकता अपनाउन तयार रहेको भन्दै एक पक्षीय संविधान बनाइए स्वीकार्य नहुने उल्लेख गरे । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार एमाले नेता माधव नेपालविरुद्ध खनिए ।

बैठकमा नेपालले सहमति नभए प्रक्रियामा जानुको विकल्प नरहेको बताएपछि गच्छदार उनीविरुद्ध खनिएका हुन् । उनले बहुमतको फुर्ती नलगाउन नेपालले चुनौती दिए । सत्ता पक्षले बहुमतको आडमा संविधान जारी गर्न खोजेको भन्दै त्यसो गरिए मुलुकमा दुर्घटना हुने बताए ।

अघिल्लो संविधानसभामा पहिचान पक्षधरको बहुमत रहेका बेला काँग्रेस एमाले प्रक्रियामा जान नमानेको स्मरण गराए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us