सहमतिमै संविधान लेखन प्रक्रिया अगाडि बढाउन आग्रह

काठमाण्डु टुडे २०७१ असोज १९ गते १३:३३ मा प्रकाशित

काठमाण्डु,१९ असोज एमाओवादीसहित विपक्षी दलको संयुक्त गठबन्धनले सहमतिकै आधारमा संविधान निर्माण प्रक्रियालाई अगाडि बढाउन आग्रह गरेको छ ।
एमाओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार बसेको बैठकले विगतमा विभिन्न चरणमा भएका सहमति तथा सम्झौताका आधारमा पनि सहमतीय प्रक्रिया नै संविधान निर्माणको प्रमुख आधार भएकाले बहुमतीय प्रक्रियामा जान नहुनेमा जोड दिएको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाओवादी सचिव वर्षमान पुनले सहमतिभन्दा अर्को कुनै पनि विकल्प अङ्गालिए त्यो आफूहरूलाई मान्य नहुने निष्कर्ष बैठकले निकालेको जानकारी दिए ।
प्रमुख दलबीच भएको १२ बुँदे सम्झौता, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौताको मर्म र भावना र सहमतिका आधारमा सबै वर्ग तथा पक्षलाई मान्य हुने गरी संविधान लेखन प्रक्रियालाई अगाडि बढाउन बैठकले सरकारमा रहेका दललाई आग्रह गरेको छ, सचिव पुनले भने ।  सरकारमा रहेका दलहरूले सहमतिभन्दा पनि बहुमतका आधारमा संविधान निर्माण गर्न चाहेको देखिएको भन्दै बैठकले त्यसो गरिए आफूहरूलाई मान्य नहुने निष्कर्षसमेत निकालेको उनको भनाइ छ ।
बैठकले सोमबार तीनवटै गठबन्धनको तर्फबाट संविधान निर्माणका ठोस आधार सार्वजनिक गर्ने तयारीसमेत गरेको छ ।
बैठकमा एमाओवादी नेतृत्वको सङ्घीय गणतान्त्रिक गठबन्धन, साना दलहरूको पहिचानमा आधारित सङ्घीय गठबन्धन र संविधानसभा बाहिर रहेका दलहरूको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय गठबन्धनमा आबद्ध दलहरूको सहभागिता रहेको थियो ।
यसैबीच, दसैँको बिदालगत्तै प्रमुख तीन राजनीतिक दल संविधान निर्माणमा सहमति जुटाउने ध्येयका साथ छलफलमा जुटेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us