भक्तपुर, १९ असोज- भक्तपुरमा सम्बन्ध विच्छेदको घटना अत्यधिक रूपमा बढेको छ । एक वर्षको अवधिमा भक्तपुरमा १२८ वटा सम्बन्ध विच्छेद भएको भक्तपुर जिल्ला अदालतले जनाएको छ ।
जिल्ला अदालत भक्तपुरबाट आव २०७०÷०७१ मा १२८ वटा सम्बन्ध विच्छेद भएकोे अदालतका श्र्रेस्तेदार खड्गराज अधिकारीले बताए । सम्बन्ध विच्छेदमा परेका मुद्दामध्ये अझै ४२ वटा मुद्दा फैसला गर्न बाँकी रहेको उनको भनाइ छ ।
विवाह भएको पाँचदेखि सात वर्षमै सम्बन्ध विच्छेदका लागि अदालतमा नालिस गर्नेको सङ्ख्या उत्तिकै बढेको उनले बताए । आएका घटनालाई आधार मान्दा धेरैजस्तो २५ देखि ३० वर्ष ननाघेका दम्पतीहरू सम्बन्ध विच्छेदका लागि अदालत आउने गरेका छन् ।
कलिलै उमेरमा अपरिपक्क रूपमा हुने प्रेम विवाह धेरै समय नटिक्ने गरेको अदालतको अनुभव छ । कलिलै उमेरमा प्रेम विवाह ग¥यो, बुझ्ने भएपछि उनीहरूबीच धेरै कुरामा असमझदारी सिर्जना हुन्छ, विवाद हुन्छ र उनीहरू सम्बन्ध विच्छेदका लागि अदालत आउने गर्छन्, अधिकारीले भने ।
सम्बन्ध विच्छेदका लागि पछिल्लो समयमा पुरुषभन्दा महिला नै बढी आउने गरेका छन् । अदालतका अनुसार श्रीमान् विदेशमा बसेका, कलिलै उमेरमा विवाह गरेका, घरपरिवारमा मानसिक र शारीरिक यातना दिएका र श्रीमान्ले गर्ने चरम यौन शोषणका कारणलेसमेत सम्बन्ध विच्छेदको उजुरी लिएर आउने गरेका छन् ।