दाङ, १९ असोज- तुलसीपुर नगरपालिका वडा नं १ मुलकोटो र हलवार गाविस वडा नं ५ को सिमानामा अवस्थित चमेरी गुफा प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको छ ।
करिब दुईदशक पहिले पत्ता लागेको प्राकृतिक गुफाको प्रचारप्रसार र प्रवद्र्धन गर्नेसके वाह्य तथा आन्तरिक पर्यटकलाई आकर्षित गराइ पर्यटन प्रवद्र्धन गर्नसकिने स्थानीयको भनाइ छ ।
सो गुफासम्म पुग्नका लागि सामान्य मोटर बाटो पुगे तापनि पर्याप्त रूपमा त्यसको विकास हुन नसकेको स्थानीयवासी कीरण केसीले बताए ।
तुलसीपुर बजारदेखि करिब १२ किलोमिटरको दूरीमा रहेको यस गुफाको प्रचारप्रसार र सम्वद्र्धन गर्नेसके पर्यटकीयस्थलका रूपमा विकास गर्न सकिने यहाँका जानकारहरूको भनाइ रहेको छ । प्राकृतिक रूपमा रहेको गुफाको संरक्षण र यसलाई दिगो विकास गर्नसके दाङ जिल्लाको मुख्य पर्यटकीय क्षेत्रका रूपमा विकास हुने छ । हाल गुफामा दैनिक रूपमा ३० देखि ४० सम्म सर्वसाधारण अवलोकनका लागि जाने गरेको स्थानीय सीताराम पुनले जानकारी दिए ।
तीनतलामा रहेको उक्त गुफासम्म पुग्नका लागि जिल्ला विकास समिति दाङ, तुलसीपुर नगरपालिका, स्थानीय सामुदायिक वन र पर्यटन विकास कार्यालय भैरहवाको आर्थिक सहयोगमा पुग्ने बाटो तथा अन्य केही संरचना निर्माण भए पनि गुफाको पर्याप्त विकास हुन सकेको छैन ।
गुफाभित्र विभिन्न देवीदेवता, सेषनाग र बाघको स्वरूप पनि देखिने भएकाले गुफाको अवलोकन गर्ने जो कोही चकित पर्ने गर्दछन् । गुफाको बाहिरी भाग र भित्री भागमा ति स्वरूपहरू देख्न सकिन्छ । गुफामा विभिन्न तीन तहहरू रहेका छन् । बाहिरबाट हेर्दा पहाड र त्यसभित्र अवस्थित चमेरी गुफामा चमेराहरू बस्ने भएका कारण यसको नाम चमेरी गुफा हुन गएको जानकारहरू बताउछन् ।
गुफासम्म पुग्न बाटोमा सिँडीहरू निर्माणको काम थालिने भए पनि बजेट अभावका कारण सो काम सम्पन्न हुन नसकेको बताइएको छ । चमेरी गुफासम्म तुलसीपुर नगरपालिका र जिविस दाङको सहयोगमा बिजुली पुगे पनि सो विद्युत्लेमात्र पर्याप्त भएको छैन ।
स्थानीय तथा चेमेरी गुफा सर्वाङ्गीण विकास संस्थाका सचिव ऋषिराम पुनले यसको विकासका लागि सबै लाग्नुपर्ने बताए । उनले भने, “गुफाको प्रचारप्रसार र विकास गर्नसके पर्यटकीय क्षेत्रका रूपमा विकास हुने र यसले स्थानीयवासीको आर्थिक विकासमा टेवा पुग्नेछ ।
संरक्षण समितिले चमेरी गुफा अवलोकनका लागि रु १५ लिने गरेको छ । त्यसबाट सङ्कलित रकम गुफाको विकासमा लगाइने बताइएको छ ।