महोत्तरी, १८ असोज – आफू अपहरणमा परेको भनी झुटो प्रचार गर्ने एक व्यक्ति सहित ६ जनालाई प्रहरीले महोत्तरीको बसबिट्टीबाट पक्रेको छ ।
आफू अज्ञात समूहको अपरहरणमा परेको भनी प्रहरीलाई झुटो खबर गर्ने महोत्तरी सम्सी–८ का बेचु राय यादव र उनका सहयोगी अन्य ५ जनालाई प्रहरीले बसविट्टी–७ का दुखा दासको घरबाट पक्रेको हो ।
गएको बिहीबार बेलुकादेखि सम्पर्क बिहिन भएका यादवले आफू अज्ञात समूहको अपहरणमा परेको भनी गाउँमा हल्ला चलाएका थिए । यादवकी श्रीमति र आफन्तले बेचु अपहरणमा परेको भनि खबर गरेपछि बिहीबारदेखि नै प्रहरीले यादवको खोजी गरेको थियो । बसविट्टीमा रक्सी पिएर अवस्थामा शुक्रबार राती प्रहरी टोलीले यादवलाई पक्रेको महोत्तरीका प्रहरी उपरिक्षक सौरभ राणाले जानकारी दिए ।
गाउँमा ट्याक्टर चलाउने काम गर्दै आएका यादवले श्रीमतिलाई झुक्याएर अर्की युवतीसँग सम्बन्ध विस्तार गर्ने उद्देश्यले आफ्नो अपहरणको हल्ला चलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरिक्षक राणाले बताए ।