आज महाअष्टमी, मुलुकभर दुर्गा भवानीको पूजाआराधना गरिँदै

काठमाण्डु टुडे २०७१ असोज १६ गते २:२७ मा प्रकाशित

काठमाण्डु, १६ असोज– हिन्दू नेपालीहरको महान चाड बडादसैंको आठौं दिन आज मुलुकभर दुर्गा durgaभवानीको पूजाआराधना गरी महाअष्टमी पर्व मनाइँदैछ । आजका दिन दसैंघर र कोतलगायत देशका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ । काठमाण्डु उपत्यकाका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङकटा, बज्रबाराहीलगायतका मन्दिरमा बलि चढाउने र पूजा आराधना गर्नेको बिहानैदेखि घुइँचो लागेको छ ।
राजधानीबाहिर काभ्रेको पलाञ्चोक भगवती र बनेपाको चण्डेश्वरी, गोरखाको मनकामना, वीरगन्जको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, जनकपुरको राजदेवी, डडेल्धुराको उग्रतारालगायतका मन्दिरमा शक्तिस्वरुपा भगवतीको पूजाअर्चना गर्ने प्रचलन छ ।

आज दसैंघर तथा जमराकोठामा दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रुपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गर्नाका साथै फलामबाट बनाइएका हातहतियार र सवारी साधनलाई सफासुग्घर गरी बलिसहित पूजा गरिन्छ ।

पशुबली नचढाउनेले आजका दिन जमराकोठामा घिरौला, कुभिन्डो, मूला आदि बलि दिई दुर्गा भवानीलाई खीर तथा नरिवल चढाउने गर्छन् । हनुमानढोकाको दसैं घरमा आज मध्यरातमा शक्ति रुपिणी दुर्गा भवानीको पूजाअर्चना र हर्ष बढाइँका साथै ५४ रांगा र ५४ बोकाको बलि दिई कालरात्रि मनाउने चलन छ ।
यसपाली नवमी र अष्टमी एकै दिन परेकाले माताता सिद्धिदात्रीको पनि पूजाआजा गरिंदै छ । सिद्धिदातृ मातालाई विजय र दानकी प्रतीक मानिएको छ
भगवान शंकरले माता सिद्धिदातृको पूजाआराधना गरी आफ्नो शरीरको देब्रेपट्टि देवीलाई उत्पन्न प्रार्थना गरी अर्धनारीश्वर बन्न सफल भएको शास्त्रहरुमा उल्लेख छ ।
आज काठमाडौंको हनुमानढोका परिसरमा रहेको तलुेजु भवानीको मन्दिरमा विशेष पूजाआजा गरिन्छ । यो मन्दिर दशैंको नवमीका दिन वर्षको एक दिनमात्र सर्वसाधारणका लागि खुला गरिन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us