दसैंमा खाऔं, तर ध्यान पुर्‍याऔं

काठमाण्डु टुडे २०७१ असोज १५ गते २:०८ मा प्रकाशित

काठमाण्डु– दसैं रमझम, भेटघाट र पूजाआजाको मात्रै होइन, स्वादिष्ट खानाको पनि पर्व हो ।
सन्तुलित खानपानले मान्छेको शरीरलाई सही पोषण दिन्छ । खानपानमा ध्यान नदिए बालबालिका, बूढापाका र स्वास्थ्य कमजोर भएकाहरुका लागि बढी जोखिमपूर्ण हुन्छ ।

विज्ञहरुका अनुसार दसैं–तिहारजस्ता चाडपर्वमा स्वस्थ रहन खानपानमा निकै ध्यान दिन जरुरी छ । उच्च रक्तचाप, मधुमेह, मुटु रोगी, ह्दयघात जस्ता रोग, एन्जियोप्लाष्टी गरिसकेका रोगी, हार्ट फेल्योर अर्थात मुटु कमजोर भएकाहरु, उच्च कोलेस्ट्रोल, जन्मजात मुटुरोग, पेटको दीर्घकालिन रोगीहरु, ग्याष्टिक, पेटको अल्सर, दीर्घकालिन मृगौला रोग भएकाहरु लगायतले त खाना खाँदा झनै बढी ध्यान दिनुपर्छ ।
दसैंमा मासुसँगै मदिरा पिउने जमात पनि धेरै छ । एक दिनमा एउटा स्वस्थ व्यक्तिले दुई युनिट र महिलाले एक युनटिभन्दा बढी मदिरा सेवन गर्न हुँदैन ।
‘रोगी मात्र नभई स्वस्थ व्यक्तिलाई समेत एक दिनमै ज्यादा मदिरा सेवनले हृदयघात निम्त्याउन सक्छ,’मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका मुटुरोग विशेषज्ञ डा. ओममुर्ति अनिल भन्छन्, ‘मुटुको चाल अनियमित भएकाहरु ,उच्च रक्तचाप नियन्त्रण नभएका र उच्च कोलस्ट्रोल भएकाहरुले मदिरा सेवन गर्नु हुँदैन ।’

दसैंमा मांसाहरीहरु व्यापक मात्रामा  बोसो भएका खाद्य पदार्थ व्यापक रुपमा उपयोग गर्छन् । खसी, राँगा आदिका रातो मासु, अन्डाको पहेँलो भाग आदिमा बढी मात्रामा बोसो पाइन्छ ।

‘कोलस्ट्रोल, रक्तचाप र मुटुरोगीहरुले बोसो भएको खाद्य पदार्थको सकेसम्म कम प्रयोग गर्नुपर्छ’,डा. अनिल भन्छन् ,‘उनीहरुले खसी ,रागाँको मासु ,अन्डाको पहेँलो भाग आदि कम मात्रामा खानुपर्छ । ’उनका अनुसार सामान्य व्यक्तिले सातामा दुई वटा  मात्र अन्डा खानु उपयुक्त हुन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us