मधेसवादी दल एमाओवादीको भर्‍याङ बन्दा संविधान निर्माणमा अवरोध : नेपाल

काठमाण्डु टुडे २०७१ असोज १४ गते ७:५७ मा प्रकाशित

काठमाण्डु, १४ असोज – एमाले वरिष्ठ नेता माधवकुमार नेपालले मधेसवादी दल एमाओवादीको भर्‍याङ बनेर संविधान निर्माणमा अवरोध गरेको बताएका छन् ।

madhav kumar nepalप्रतिपक्षमा रहेको एमाओवादी र मधेसवादी दलले संसद अवरुद्ध गरेर संविधान निर्माण प्रक्रिया तथा सरकारका दैनिक काममा नकारात्मक असर परेको आरोप लगाए ।

रौतहटको गौरमा रहेको नेपालकै निजी निवासमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पहिलो संविधानसभामा पनि अवरोध र विरोधकै कारण संविधान जारी हुन नसकेको स्मरण गर्दै एमाओवादीले बन्न नदिन बहाना झिकेर संसद अवरुद्ध पारेको बताए ।

एमाओवादी सबै नेतालाई भागबण्डा मिलाउन अरु दलले ठेक्का नलिएको भन्दै नेता नेपालले समस्याको जड नै एमाओवादी रहेको बताए ।

एमाले अझै पनि सात प्रदेशकै पक्षमा रहेको र शासकिय स्वरुपका सवालमा जनप्रतिनिधिमूलक प्रणालिका पक्षमा रहेको बताउदै उनले यहि असोज महिनाको अन्त्य सम्ममै माघ ८ ले संविधान दिने कि नदिने भन्ने कुरा प्रष्ट हुने दाबी गरे । माघ ८ मा संविधानको सम्भावना रहेको बताउदै उनले अझै पनि एमाओवादी र मधेसी दलहरुले समयमै देशका बारेमा सोच्नु पर्ने आवश्यक्ता रहेको बताए ।

नेता नेपाल दशैंको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुन सोमबार रौतहट पुगेका छन्

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us